विदेशबाट फर्केर कृषिकर्म गरेकालाई बेनी नगरपालिकाको पुरस्कार

हिमाल प्रेस १४ असार २०८० १३:५८
4
SHARES
विदेशबाट फर्केर कृषिकर्म गरेकालाई बेनी नगरपालिकाको पुरस्कार

म्यागदी– बेनी नगरपालिका-७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन्। म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुंगानाले सञ्चालन गरेको ढुंगाना कृषि तथा पशुपक्षी फार्म गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो।

वैदेशिक रोजगारीका लागि १ दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि ०७० सालदेखि निरन्तर पशुपालनमा सक्रिय ढुंगानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर ५ लाखको लगानीमा एउटा भैंसी र गाईबाट पशुपालन सुरु गरेका ढुंगानाले अहिले मनग्ये आम्दानी गर्दै आएका छन्।

वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुंगाना यही साता बेनी नगरपालिका ७ बाट पनि उत्कृष्ट कृषकका रूपमा सम्मानित भए।

फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैंसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुंगानाले जानकारी दिए। उनका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैंसीबाट दैनिक २ सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ।

फार्म निर्माण, गाई भैंसी खरिदलगायत कामका लागि हालसम्म १ करोड रुपैयाँ लगानी गरिसकेको ढुंगानाको भनाइ छ। फर्ममा ३ जनाले रोजगारीसमेत पाएको उनको भनाइ छ।

गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुंगानाको भनाइ छ। गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका ५ जनालाई पुरस्कृत गर्दैछ।

प्रकाशित: १४ असार २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =