धवलागिरि मावि सञ्चालनका लागि एक करोड ११ लाख सहयोग

हिमाल प्रेस १९ फागुन २०८० ८:०२
18
SHARES
धवलागिरि मावि सञ्चालनका लागि एक करोड ११ लाख सहयोग

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित धवलागिरि माविलाई एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ ।

दस जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनःमिलन अभियानमार्फत उक्त रकम संकलन भएको हो ।

विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।

संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए। गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ।

२४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २०७ जनाबाट सहयोग प्राप्त भएको छ। बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्यान्ड्स अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा उक्त रकम सहयोग गरेका हुन् ।

विद्यालयमा हाल करिब २५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए । रासस

 

प्रकाशित: १९ फागुन २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =