लुम्बिनीबाट गुटेरेसले गरे विश्व शान्तिको आह्वान

हिमाल प्रेस १४ कार्तिक २०८० १८:०६
32
SHARES
लुम्बिनीबाट गुटेरेसले गरे विश्व शान्तिको आह्वान

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको आह्वान गरेका छन्। मंगलबार लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि अशोक स्तम्भ अगाडि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले विश्वमा शान्ति, करुणा र सद्‍भाव कायम राख्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै गुटेरेसको भ्रमणले विश्वमा शान्ति, सदभाव समझदारीको सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे। उनले विगतमा पनि संयुक्त राष्ट्र संघका महासचिवहरूको भूमिकाले लुम्बिनीको विकासमा महत्त्वपूर्ण कामहरू भएको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीलाई विश्व शान्ति र सद्‍भावको केन्द्र विकास गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए।

संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक सहयोगमा केञ्जो टांगेले लुम्बिनी गुरुयोजना तयार पारेपछि नै तीर्थ र पर्यटनको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्त्व विश्वव्यापी बनेको बताए।

उनले पञ्चशील सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्तिको परराष्ट्र नीतिलाई निरन्तरता दिएको बताए। प्रधानमन्त्रीले महासचिवका रूपमा गुटेरेसले लुम्बिनीबाट शान्ति, सद्‍भाव र एकताको सन्देश विश्वसामु लैजाने प्रतिबद्धताको प्रंशसा गरे। उनले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्नपूर्ण आधार शिविरमा पुगेर महासचिवले राखेर विश्वव्यापी ध्यानाकर्षण गराएकोमा धन्यवाद दिए।

प्रधानमन्त्रीको उपस्थितिमा लुम्बिनीको मायादेवी दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले विश्वलाई शान्ति, करुणा र भातृत्व कायम गर्न अपिल गरे। ‘युक्रेन र रुस, गाजा इजरायल सबैतिर द्वन्द्व चलिरेहको छ, बालक वृद्ध र सर्वसाधारणले ज्यान गुमाइरहेका छन्, मानव अधिकारको हनन भइरहेको छ,’ महासचिव गुटेरेसले भने, ‘बुद्धको शान्ति शिक्षा अनुसार शान्ति महसुस गर्नु र त्यसको परिचालन गर्नु आजको आवश्यकता हो।’

पत्रकार सम्मेलनअघि प्रधानमन्त्री सहित महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले भ्रमणले उत्साही बनाएको बताए। उनले महासचिवको लुम्बिनी भ्रमणले विश्व शान्तिको केन्द्रका रूपमा लुम्बिनीलाई विकास गर्न र सम्पदा संरक्षणमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यूक्रेस रुस र पछिल्लो पटक इजारायल हमास युद्ध चर्किरहेको बेला यूएन महासचिवले लुम्बिनीबाट विश्व शान्तिको कामना समेत गरे। पोखराबाट भैरहवा विनमानस्थल हुँदै लुम्बिनी आइपुगेका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरी शान्तिदीप हुँदै मायादेवी मन्दिरको भ्रमण गराइएको थियो।

प्रकाशित: १४ कार्तिक २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =