फिर्के मिच्ने संरचना ३५ दिनभित्र हटाऊ : पोखरा महानगर

हिमाल प्रेस ११ कार्तिक २०८० १३:१०
4
SHARES
फिर्के मिच्ने संरचना ३५ दिनभित्र हटाऊ : पोखरा महानगर

पोखरा- पोखरा महानगरपालिकाले फिर्केखोला मिच्ने संरचना हटाउन ३५ दिने सूचना निकालेको  छ। महानगरको वडा १८, अँधेरीकुनादेखि वडा २, ४, ५, ८, ७, १७ हुँदै वडा ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना ३५ दिनभित्र हटाउन महानगरले सूचना जारी गरेको हो।
महानगरले हालैमात्रै प्राविधिक टोली खटाएर स्थलगत नापजाँच गरी मापदण्ड सीमांकन गरी पोल गाडेको थियो।

३५ दिनभित्र संरचना नहटाएमा महानगर आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने महानगरको चेतावनी छ।

‘फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको भेटिएको थियो। तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको छ।

फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धीको सो अन्तिम प्रतिवेदन प्राविधिक समिति संयोजक वासुदेव पौडेलले गत ६ असोजमा महानगर प्रमुख धनराज आचार्यलाई बुझाएका थिए। करिब १ महिना लगाएर गरिएको नापजाँचमा यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पाइएको छ।

पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाले पोखरा महानगरका ८ वटा वडालाई छुन्छ। बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा फिर्केखोला परेपछि महानगरले अस्तित्व खोज्न नापजाँच गरेको हो। नाचजाँचको उद्देश्य फिर्केको वास्तविक अवस्था (खोलाघर) नापी कार्यालयको नक्साबमोजिम यकिन गर्ने, फिर्के खोलाको जग्गा यकिन गर्ने र खोलाको जग्गामा बनेका स्थायी वा अस्थायी संरचनाको लगत तयार पार्ने थियो।

अध्ययनअनुसार खोलाको उचाइ ४ देखि ९ मिटरसम्म गहिरो छ। नापी कार्यालयको रेकर्डअनुसार २०६० सालयता पोखरा १७ र ६ स्थित गाईघाटमा ११ रोपनी ४ आना जग्गा फेवातालमा माटो र फोहोर थुप्रिएर चौर बनेको छ। खोलाघर मिचेर ९७ वटा अस्थायी संरचना निर्माण भएको पाइएको थियो। कतिपय संरचना शतप्रतिशत खोलाघरमा बनेका छन् भने कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइएको छ।

 

संस्थागततर्फ सशस्त्र प्रहरी बलको तालिम केन्द्र, बराल समाज घर, पुन समाज घर, कुँवर समाज घर, सोपाल समाज घर, भयरथान महिला समूहको भवनले खोला घर मिचेका छन्। संघसंस्थाका यस्ता संरचना १८ वटा छन्। तिनीहरुमा लिटिल स्टेप स्कुलको भवन, पोखरा इन्जिनियरिङ कलेज, गिरी समाज घरको शौचालय, सोपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, पोखरा फोटोग्राफर एसोसिएसनको भवन, अर्चलबोट किरियापुत्रीको भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन, फिर्के तमु समाजको भवनलगायत छन्।

खोलाघरमा ५ सय ८८ सिमा स्तम्भ गाडिएको छ। फिर्के खोलामाथि बनेका पुल तथा कल्भर्टहरुको संख्या २५ रहेको पाइएको छ।

पोखराको सौन्दर्य बढाउन, जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, स्वच्छ सफा पानीको उपभोग गर्न, यस क्षेत्रबाट बग्ने पानीको उपयोगले उत्पादकत्व बढाउनसमेत फिर्केखोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको पोखरेली बताउँछन्। महानगर प्रमुख आचार्यले फिर्के बचाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिँदै फिर्के मिचेर बनेका संरचना हट्नेमा कुनै शंका नरहेको बताउँछन्। पोखरामा दिगो पर्यटनका लागि एसियाली विकास बैंकको ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने उनले बताए।

प्रकाशित: ११ कार्तिक २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =