फिर्के खोला मिचेर डेढ सय संरचना निर्माण

विजय नेपाल ४ भदौ २०८० १७:१०
8
SHARES
फिर्के खोला मिचेर डेढ सय संरचना निर्माण पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला। तस्बिर : हिमाल प्रेस

पोखरा– फिर्के खोला मिचेर १ सय ४७ वटा संरचना निर्माण भएको भेटिएको छ। एक महिना लगाएर गरिएको सीमांकनका क्रममा फिर्के अतिक्रमण भएको पाइएको हो। ३५ वटा व्यक्तिगत पक्की घर र २५ सामाजिक भवनले फिर्के मिचेका छन्। साथै ८७ वटा कच्ची घर पनि फिर्के खोला मिचेरै निर्माण भएको पाइएको सर्वेक्षक वासुदेव पौडेल बताउँछन्। ‘केही संरचना त ८० प्रतिशत पानीमै भएको पाइएको छ,’ उनी भन्छन्।

पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला अतिक्रमणको चपेटामा परेपछि पोखरा महानगरपालिकाले ‘फिर्के खोजी अभियान’ थालेको हो। साउन ३ देखि सुरु भएको सीमांकन कार्य एक महिनामा सकिएको छ।

सर्वेक्षक पौडेलका अनुसार धेरैजसो संरचना खोलामै परेका घर हुन्। सीमांकन गर्न ५ सय ८४ पक्की पिलर गाडिएका छन्। त्यस्तै खोलाको दायाँबायाँ २ सय ४० जति चिन्ह लगाइएका छन्। फिर्के खोला पोखरा-१८ अँधेरीकुनादेखि सुरु भएर पोखरा-१७, गाईघाटस्थित फेवातालमा गएर मिसिन्छ। फिर्केले पोखराको २, ४, ५, ७, ८, १७ र १८ वडालाई छुन्छ।

बढ्दो सहरीकरणसँगै खोला मिचेर कैयौँले विभिन्न भवन संरचना निर्माण भएपछि फिर्केको अस्तित्व हराउँदै गएकोमा नागरिक समाज चिन्तित थियो। नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले फिर्के सीमांकन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। ‘फिर्के मिच्ने संरचना तत्काल भत्काएर मोटरेबल बाटो, फुटट्रेल र साइकल लेन निर्माण गर्नुपर्छ,’ उनी भन्छन्।

केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए। यस्तै पाँच समाजघरको भवन पनि मापदण्डभित्रै भएको पाइएको छ। राजनीतिक दल तथा शक्ति केन्द्रको आडमा लगातारको अतिक्रमणले फिर्के खोला खुम्चिँदै र प्रदूषित हुँदै गएको हो। यहाँ ठूलठूला कंक्रिटका संरचना निर्माण गरिएका छन्। यसको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ।

फिर्के खोलाको सीमांकन गर्न खटिएको प्राविधिक टोली। तस्बिर : हिमाल प्रेस

सीमांकन कार्यक्रममा सर्वेक्षक पौडेलसहित अर्का सर्वेक्षक बद्रीप्रसाद तिवारी र १६ जना अमिन थिए। त्यस्तै किला गाड्ने, झाडी फाँड्ने, सिमेन्टको मसला मुछ्ने र नगर प्रहरी २२ गरी कुल ४० जना लगातार खटिएका थिए। महानगरले दिएको जिम्मेवारी आफूहरूले घामपानी नभनी सम्पन्न गरेको सर्वेक्षक पौडेल बताउँछन्। ‘केही दिन वर्षाले काममा बाधा पुग्यो,’ उनी भन्छन्, ‘झाडी, अप्ठेरो ठाउँमा सीमांकन अलि गाह्रो भयो। तर जेनतेन काम सम्पन्न गरियो।’

सीमांकन सकिएको र यो साता नै प्रतिवेदन सार्वजनिक गर्ने पोखरा महानगरपालिकाको तयारी छ। पोखरा महानगर प्रमुख धनराज आचार्य एसियाली विकास बैंकको पोखरामा दिगो विकास पर्यटनका लागि सात अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्के खोलाका काम गरिने बताउँछन्। त्यसअघि अर्को सूचना जारी गरी मापदण्ड मिचेर निर्मित संरचना भत्काउन समय दिइने उनको भनाइ छ।

पहिले पनि खोला सीमांकन गरिएको थियो। यसपटकको सीमांकनमा स्थानीयले कुनै अवरोध नपुर्‍याएको पौडेल बताउँछन्। २०३२ सालको नापीअनुसार अहिले फिर्के खोलाको प्राविधिक सर्वेक्षण र नापजाँच गरेर सिमाना यकिन गर्ने काम भएको हो। तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा ६ पुस २०७५ को कार्यपालिका बैठकले फिर्केसहित बुलौदी र बगादी खोलाको मापदण्ड १० मिटर तोकेको थियो। तर उक्त निर्णय कार्यान्वयनमा आउन सकेन।

प्रकाशित: ४ भदौ २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =