फिर्के खोलाको आकार खोज्दै पोखरा महानगर

हिमाल प्रेस ३ साउन २०८० २०:०६
10
SHARES
फिर्के खोलाको आकार खोज्दै पोखरा महानगर

पोखरा- पोखरा महानगरपालिकाले सहरको मध्यभाग भएर बग्ने फिर्के खोलाको आकार खोज्न थालेको छ। निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली गठन गरी रेखांकन थालेको हो।

दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केखोलाको संरक्षण, प्रवर्द्धन र विशेष सौन्दर्यकरण गर्न महानगरपालिकाले बुधबारदेखि फिर्केखोलाको आकार पत्ता लगाउन काम सुरु गरेको छ।

पोखरा(६ वडा प्रहरी कार्यालय बैदाम नजिक गाईघाटबाट फिर्केखोलाको प्राकृतिक सिमाना यकिन सुरु भएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार २०३२ सालको नापीअनुसार फिर्केखोलाको प्राविधिक सर्वेक्षण र नापजाँच गरेर सिमाना यकिन गरिनेछ।

खोलाघरमा नम्बरसहितको स्तम्भसमेत राखिनेछ। उनले खोलाको राइट अफ वे नापेर स्तम्भ राख्ने जनाए। उनले भने, ‘पहिलो चरणमा खोलाघर छुट्याउँछौं र सिमेन्टको स्तम्भ राख्छौं।’

नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले यो अभियानमा महानगर पछि हट्न नहुने बताउँछन्। उनले भने, ‘फिर्केको योजनालाई राजनीतीकरण गरेर पछाडि हट्न हुँदैन। यसमा नागरिक समाजको सधैँ साथ छ।’

उनका अनुसार फिर्केखोलाको समस्या व्यापक अतिक्रमण हो। राजनीतिक दल शक्तिकेन्द्र र समाजसेवीको आडमा भएको अतिक्रमणले फिर्केखोला बिग्रेको उनको भनाइ छ। फिर्केखोलाकै कारण फेवाताल प्रदूषण भएको उनको दाबी छ।

नागरिक समाजको सर्वेक्षणमा फिर्केको विभिन्न २८ स्थानमा अतिक्रमण भएको छ। २८ स्थानमध्ये पनि ७/८ स्थानमा मात्रै विवादित छन्। फिर्के खोला मिचेर यहाँ ठूल्ठूला कंक्रिटका संरचना निर्माण गरिएका छन्।

फिर्केको मापदण्ड मिचेर निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ। फिर्के खोलाको चौडाइ कम्तीमा ४ मिटरदेखि बढीमा ३४ मिटरसम्म फैलिएको छ। फिर्केको ५ मिटर मापदण्डभित्र हाल १९८ वटा घर संरचना निर्माण भएका छन् भने १० मिटर मापदण्डअन्तर्गत ८ सय कित्ता जग्गा पर्दछन्।

प्रकाशित: ३ साउन २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =