फिर्के खोलामै १ सय ६० संरचना

फिर्के खोलाको नापजाँच प्रतिवेदन सार्वजनिक

विजय नेपाल ६ असोज २०८० १९:४१
20
SHARES
फिर्के खोलामै १ सय ६० संरचना

पोखरा- ‘फिर्के खोलाको खोला घर नापजाँच प्रतिवेदन २०८०’ पोखरा महानगरपालिकालाई बुझाइएको छ। प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलामै बनेका छन्। तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारी सहितका संघसंस्थाले बनाएका छन्।

फिर्के खोलाको खोला घर नापजाँच सम्बन्धीको सो प्रतिवेदन प्राविधिक समिति संयोजक वासुदेव पौडेलले शनिबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

सम्बन्धित वडाका अध्यक्षहरूको रहोवरमा प्रतिवेदन बुझाइएको हो। पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाले पोखरा महानगरका ८ वटा वडालाई छुन्छ। बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा फिर्के खोला परेपछि महानगरले अस्तित्व खोज्न नापजाँच गरेको हो।

करिब १ महिना लगाएर गरिएको नाचजाँचको उद्देश्य फिर्केको वास्तविक अवस्था (खोला घर) नापी कार्यालयको नक्सा बमोजिम यकिन गर्ने, फिर्के खोलाको जग्गा यकिन गर्ने र खोलाको जग्गामा बनेका स्थायी वा अस्थायी संरचनाको लगत तयार पार्ने थियो।

अध्ययनका क्रममा पोखराको साविक ग्यारजाति (पछि सराङकोट) हुँदै फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाई ८ किमी रहेको छ। यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी खोलाको उचाइ ४ देखि ९ मिटरसम्म गहिरो रहेको छ। नापी कार्यालयको रेडर्कअनुसार २०६० सालयता पोखरा १७ र ६ स्थित गाईघाटमा ११ रोपनी ४ आना जग्गा फेवातालमा माटो र फोहोर थुप्रिएर चौर बनेको छ।

खोला घर नै मिचेर ९७ वटा अस्थायी संरचना निर्माण भएको पाइएको अन्तिम प्रतिवेदनमा उल्लेख छ। कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय आंशिक भाग खोला घरमा बनेको पाइएको छ।

यसैगरी खोला घर नै मिचेर ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन्। साथै संस्थागत संरचना १० वटा छन्। तिनीहरूले खोला घर मिचेका छन्। संस्थागततर्फ एपीएफको तालिम केन्द्र, बराल समाज घर, पुन समाज घर, कुँवर समाज घर, सोपाल समाज घर, भयरथान महिला समूहको भवनले खोला घर मिचेका छन्। संघसंस्थाका संरचनामध्ये १८ वटा खोला घर मिचेका छन्।

तिनीहरूमा लिटिल स्टेप स्कुलको भवन, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, गिरी समाज घरको शौचालय, सोपाल समाज घर, किरियापुत्री भवन बगाले टोल, पोखरा फोटोग्राफर एसोसिएसनको भवन, अर्चलबोट किरियापुत्रीको भवन पुन समाज घर, बराल कुलायन मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन, फिर्के तमु समाजको भवनले फिर्के मिचेका छन्।

फिर्के खोलाको प्राविधिक नाचजाँचका क्रममा यकिन गरिएका खोला घरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भ गाडिएको छ। फिर्के खोलामाथि बनेका पुल तथा कल्भर्टहरूको संख्या २५ रहेको छ।

गत साउन ४ मा फेवातालदेखि सुरु भएको नाचजाँच भदौ २ गतेसम्म चलेको थियो।प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक सर्भेक्षक बासुदेव पौडेलले पोखराको सौन्दर्यकरण बढाउन, जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, स्वच्छ सफा पानीको उपभोग गर्न, यस क्षेत्रबाट बग्ने पानीको उपयोगले उत्पादकत्व बढाउनसमेत फिर्के खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताए। उनले खोला घर यकिन गर्नेक्रममा यसको ऐतिहासिक पक्ष पनि उजागर भएको बताए।

नाचजाँचका क्रममा खोला किनारमा बस्ने नागरिकको विभिन्न पक्षहरूबाट जमिन उपलब्ध गराइदिने प्रलोभन देखाई भोट बैंकको रूपमा प्रयोग गर्ने गरेकोसमेत उनले बताए। प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले यसबारे कार्यपालिकाले निर्णय गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए।

फिर्के मिचेर बनेका संरचना हट्नेमा कुनै शंका नरहेको उनको जिकिर छ। पोखरामा दीगो पर्यटनका लागि एसियाली विकास बैंकको ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्के खोला सौन्दर्यकरण समावेश गरिने उनले बताए। फिर्केको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ।

उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन। पोखरा महानगरका तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा २०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयन भएन।

प्रकाशित: ६ असोज २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =