मुगु घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

हिमाल प्रेस १० कार्तिक २०८० २१:४०
38
SHARES
मुगु घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

सुर्खेत- सामूहिक हत्याको आशंका गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ गएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको हो।

सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायब उपरीक्षक नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु गएको छ। टोली शनिबार बिहानै मुगु पुग्नेछ।

मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका थिए। नगरपालिका अध्यक्ष विष्णुकुमार भामका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो।

भामले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएको जानकारी दिए। घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाको खबर पाउनासाथ शुक्रबार बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको थियो।

श्रीदेवीका पति रोजगारीका सिलसिलामा दुबईमा रहेको नगरपालिका अध्यक्ष भामले जानकारी दिए। अध्यक्ष भामका अनुसार बुधबार बिहान श्रीदेवी सन्तानसहित दसैँको टीका लगाउन माइती गएकी थिइन्। बेलुका घर फर्किएका उनीहरूको घरमा तीन दिनसम्म चहलपहल देखिएको थिएन। घटना ८ गते नै भएको उनको भनाइ छ।

चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

मुगुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु

प्रकाशित: १० कार्तिक २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =