मुगुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु

रमा केसी १० कार्तिक २०८० १५:३५
20
SHARES
मुगुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु प्रहरीले सिल गरेको घटनास्थल। तस्बिर सौजन्य : अनिल बानियाँ

सुर्खेत– मुगुको छायानाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका चार जनाको शंकास्पद मृत्यु भएको छ। नगरपालिकाका प्रमुख विष्णुकुमार भामका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो।

भामले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएको जानकारी दिए। घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।

अनुसन्धानका लागि डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए। घटना अनुसन्धानका लागि जुम्लाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ भने तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालित गरिएको ढकालले जानकारी दिए।

श्रीदेवीका पति रोजगारीका सिलसिलामा दुबईमा रहेको नगरपालिका प्रमुख भामले जानकारी दिए।  भामका अनुसार बुधबार बिहान श्रीदेवी सन्तानसहित दसैँको टीका लगाउन माइती गएकी थिइन्। बेलुका घर फर्किएका उनीहरूको घरमा तीन दिनसम्म चहलपहल देखिएको थिएन। घटना ८ गते नै भएको उनको भनाइ छ।

छिमेकीलाई उधृत गर्दै भामले भने, ‘घरमा कुनै चहलपहल थिएन। तीन दिनअघि नै आफन्तकहाँ गएको ठानेका थियौँ। तर भित्रबाट चुकुल लगाएको थाहा पाएपछि खोलेर हेर्दा चारैजनाको क्षतविक्षत अवस्थामा लास देखियो।’ त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा लगिएको छ। शव परीक्षणपछि थप जानकारी आउने उनले बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ।

प्रकाशित: १० कार्तिक २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =