मन्दु सामूहिक हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

हिमाल प्रेस १३ कार्तिक २०८० १०:१७
26
SHARES
मन्दु सामूहिक हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

सुर्खेत– मुगुको छायानाथ नगरपालिका-६ मन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले गमगढी बजार क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो। हत्याको घटना भएको छ दिनपछि पक्राउ परेका ती व्यक्तिको पहिचान गोप्य राखिएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले घटनामा संलग्न रहेको शंका एक जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। उनले भने, ‘प्रहरी हत्यारा नजिक पुगिसकेको छ।’ घटना अनुसन्धानका लागि कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल मुन्दु गाउँ पुगेका छन्। यसैगरी जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीम ढकालले बताए।

मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए। प्रहरीका अनुसार ८ गते राति मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको सामूहिक हत्या भएको थियो।

प्रारम्भिक अनुसन्धानबाट चारैजनाको हत्या धारिलो हतियार प्रयोग गरेर गरिएको अनुमान प्रहरीले लगाएको छ। अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाका अनुसार घटना योजनाबद्ध रूपमा भएकाले गहन रूपमा अनुसन्धान अघि बढाइएको छ।

गाउँमा कसैसित रिसइबी थियो कि भनेर सोधपुछ गर्ने क्रम पनि प्रहरीले जारी राखेको छ। यसैगरी फोन कलका आधारमा पनि अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए।

प्रहरीले अनुसन्धानका क्रममा १२ जनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको थियो। सोही क्रममा एकजना व्यक्त पक्राउ परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

चारै शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको छ। मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए। १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गइन् कि भनी माइतीमा फोन गर्दा ८ गते नै फर्केको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको क्षतविक्षत शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =