राष्ट्रहितका लागि माओवादीका सबै धार एक ठाउँमा उभिनैपर्छ : प्रचण्ड

हिमाल प्रेस ९ कार्तिक २०८० १७:२७
10
SHARES
राष्ट्रहितका लागि माओवादीका सबै धार एक ठाउँमा उभिनैपर्छ : प्रचण्ड

रुकुम- प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  माओवादी धारका सबै  पार्टी एकीकृत भएर अघि बढ्ने बताएका छन्। उनले पार्टीले सुरु गरेको तीनमहिने विशेष रूपान्तरण अभियानले माओवादी घटकलाई एक स्थानमामा ल्याउने दाबी पनि गरे।

माओवादी अध्यक्ष प्रचण्डले रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्गामा बिहीबार आयोजित सहिद स्मृति मेला उद्घाटनका क्रममा यस्तो धारणा राखेका हुन्। ‘अब माओवादीबाट बाहिरिएका र दल खोलेका साथीहरूले एकीकृत भएर अघि बढ्ने चाहना राखिसकेका छन्। मिलेर जाँदा हाम्रो पथको जित हुनेछ,’ उनले भने, ‘हामी जसरी ठूलो पार्टीका रूपमा उदाएका थियौँ, त्यसैगरी उदाउन एकजुट हुन आवश्यक छ। अहिले हामी फरकफरक बाटोमा छौँ । यो गलत हो, क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौँ, त्यो प्रतिबद्धता पूरा गर्न सक्रिय हुन आवश्यक छ।’

शान्तिप्रक्रियापछि कतिपय साथीहरूले चित्त नबुझेर पार्टी फुटाएको पनि प्रचण्डले  स्पष्ट पारे। तर यसरी चिढिएका साथीहरूलाई कसरी मूल माओवादीमा ल्याउने भनेर केही बताएनन्। उनले भने, ‘हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जानेछ।’ समाजवादी मोर्चालाई यसै अभियानको संज्ञा दिँदै उनले ओवादीका सबै घटकलाई आग्रह गरे।

प्रचण्डले पार्टी रूपान्तरणकै लागि आफू जनताको घरदैलोमा आएको पनि बताए। उनले भने, ‘यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौँ।’ गाउँमै आएर पार्टी कार्यकर्तासँग भेट्न पाउँदा खुसी लागेको उनको भनाइ छ। ‘महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए मुलुक यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ यो परिवर्तनको हकदार तपाईँहरू हुनुहुन्छ’, प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले सहिद, बेपत्ता र घाइतेहरूप्रतिको उच्च सम्मानस्वरूप फागुन १ गते जनयुद्ध दिवस मनाउन बताए। उनले भने, ‘यस्तो निर्णय जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।’

शान्तिप्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनबाट पारित भएपछि पीडितका पक्षमा परिपूरण, सम्मान, परिचयपत्र वितरणलगायतका काम सम्पन्न हुने पनि उनले बताए। अध्यक्ष प्रचण्डले भने, ‘सहिद परिवार, बेपत्ता योद्धा र अपांग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्तालगायतका काम व्यवस्थित भएका छन्।’

प्रधानमन्त्री दाहालले गठबन्धन  सरकार पाँच वर्ष टिक्ने भन्दै अनेकन् हल्लाको पछि नलाग्न पनि आग्रह गरे। ‘हामीले निकै बलियो सरकार बनाएका छौँ। यो सरकार पाँच वर्ष नै रहन्छ। कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनविरुद्ध लागेको पनि देखियो। अन्ततः कोशीमा पनि गठबन्धनकै सरकार बन्छ’, प्रचण्डले भने।

सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको आरोप लगाउँदै उनले भने, ‘सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दल सरकार ढाल्ने प्रयासमा रहेका हुन्।’

उनले  भारत, चीन र राष्ट्रसंघको भ्रमण गर्दा आफूलाई सकारात्मक ऊर्जा थपिएको दाबी गरे। ‘हामी छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाउँदै अघि बढेका छौँ। थप बलियो हुनेछ। मेरो भारत, चीन र राष्ट्रसंघको भ्रमणले पनि यसमा सकारात्मक उर्जा थपेको छ।’

 

प्रकाशित: ९ कार्तिक २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =