प्रचण्डले पार्टीको विशेष महाधिवेशन चाहनुका चार कारण

किरण पौडेल २४ मंसिर २०८० ११:२३
10
SHARES
प्रचण्डले पार्टीको विशेष महाधिवेशन चाहनुका चार कारण

काठमाडौँ- २०७८ पुसमा आठौँ महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वर्षमै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। त्यसअघि नीति महाधिवेशन गरिने नेताहरूले बताएका छन्।

माओवादीमा प्रचण्डले यस्ता प्रस्ताव राख्नुलाई अनौठो मानिँदैन। कुनै बेला उनले पार्टी महासचिव फेर्ने चर्चा चलाए। महासचिव देव गुरुङको कार्यसम्पादनमा असन्तुष्ट रहेका प्रचण्डले उनलाई जिम्मेवारीमुक्त गर्ने प्रस्ताव आफू निकटका नेताहरूसँग गरेका थिए। अहिले त्यो विषय सेलाएको छ।

यसैगरी नेकपालाई पार्टीमा समाहित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ लाई महासचिव बनाउने विषयले माओवादीमा कम स्थान पाउन थालेको छ। माओवादी नेताहरू महासचिव परिवर्तन हुनै नसक्ने बताउन थालेका छन्।

पार्टीको नाम फर्ने प्रस्ताव पोलिटब्युरो तहबाट पारित भएको विषय बाहिर आएको छ। तर यसको टुंगो कहिले लाग्ने निश्चित छैन। पछिल्लो समय चर्चामा रहेको ‘विशेष महाधिवेशन’ पनि हुन्छ कि हुँदैन अन्योल छ। माओवादी नेताहरूका अनुसार अबको ६ महिनादेखि वर्ष दिनभित्र विशेष महाधिवेशन गर्ने तयारी छ। त्यसअघि माओवादी पार्टीको नीति महाधिवेशनको तयारीमा जुटेको छ।

माओवादी सचिव गणेश साहका अनुसार आउँदो माघ-फागुनभित्रमा नीति महाधिवेशन हुनेछ। ‘पार्टीको सांगठनिक गतिविधि कस्तो हुने र नीति कस्तो बनाउने भन्ने बारेमा नीति महाधिवेशनले निर्णय गर्छ,’ साह भन्छन्, ‘पार्टीलाई विचार दिने काम नीति महाधिवेशनबाट हुन्छ। अनि सांगठनिक काम मात्र महाधिवेशनलाई छुट्ट्याउनेछ।’

नीति महाधिवेशनमा पार्टीको गतिविधिको समीक्षा गरिने। अहिले माओवादीभित्र विभिन्न अभियान चलिरहेका छन्। ती अभियानको रिपोर्टिङसमेत नीति महाधिवेशनमा गरिने साह बताउँछन्। ‘अभियान यही मंसिरमा सकिन्छ,’ साह भन्छन्, ‘यसकोे ठीक तीन महिनापछि नीति महाधिवेशन गर्ने तय भएको छ।’  नीति महाधिवेशनबाट संगठनात्मक सिद्धान्तलाई मजबुत बनाउने माओवादी योजना छ।

हालसम्म अवलम्बन गरिएको सैद्धान्तिक विषयम छलफल गरी थप मजबुत बनाउने उद्देश्य नीति महाधिवेशनको रहेको माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल बताउँछन्।

‘विचार, राजनीति र कार्यदिशा थप गर्नुपर्ने भएको छ। हामीले अवलम्बन गर्न खोजेको समाजवाद कस्तो भन्नेबारेमा नीति महाधिवेशनमा छलफल हुनेछ’, ढकाल भन्छन्, ‘नेपाली मोडलको समाजवाद कस्तो बनाउने भन्ने विषयमा व्यापक छलफल गरी निष्कर्ष निकाल्नेछौँ।’ लगत्तै विशेष महाधिवेशनमा जुट्ने साह बताउँछन्।

कहिले नीति महाधिवेशन, कहिले विशेष महाधिवेशन भनेर पार्टी नेतृत्व आफ्नो कब्जाबाट बाहिर नपठाउने प्रचण्ड रणनीति रहेको बुझाइ माओवादीका कतिपय नेताको बुझाइ छ। अध्यक्ष प्रचण्ड झन्डै तीन दशकदेखि नेतृत्वमा रहँदै आएका छन्। तत्कालका लागि प्रचण्डले विशेष महाधिवेशन चाहनुका चार कारण रहेको नेताहरू बताउँछन्।

पार्टीको जम्बो पदाधिकारी घटाउन

माओवादी केन्द्रमा पदाधिकारी संख्या २२ सदस्यीय छ। यस्तै ४०७ सदस्य केन्द्रीय कमिटी छ। टिम ठूलो भएकाले पार्टीको लय खुम्चिरहेको प्रचण्डको बुझाइ रहेको उनी निकट एक पदाधिकारीले बताए। उनले भने, ‘यसैले पनि अध्यक्षज्यूले पदाधिकारी घटाउने चाहना राख्नुभएको छ।’

प्रधानमन्त्री भएपछि प्रचण्डले पार्टी काममा त्यति समय दिन पाएका छैनन्। अहिले भएका पदाधिकारीबाट परिणामुखी काम हुन नसकेका कारण उनी त्यति सन्तुष्ट छैनन्। ‘आफूले समय दिन नभ्याएको र अन्य नेताले समेत पार्टी कार्यक्रममा जाँगर नचलाएपछि पदाधिकारी संख्या घटाउन लागिएको हो’, ती नेताले भने।

पछिल्लो समय प्रचण्डले जेठ-असारमा दोस्रो स्तरका नेतालाई गाउँ पठाएका थिए। तर नेताहरू गाउँ गएनन्। त्यसपछि प्रचण्डले नेताहरूलाई सिंहदरबार र बालुवाटारमा पनि नआउन निर्देशन दिए। उनी आफैँले सातामा एकपटक पार्टी मुख्यालय जाने योजना बनाएका थिए। तर योजनाअनुसार उनी पार्टी कार्यालयमा नियमित पुग्न सकेका छैनन्।

नयाँ पार्टीलाई सहज बनाउन

माओवादी केन्द्र एकता अभियानमा लागेको छ। उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकता वार्ता समिति गठन भएको छ। पार्टी सचिव गणेश साहका अनुसार एकताका लागि विप्लव नेतृत्वको नेकपासँग पनि कुरा भइरहेको छ। ‘एकता भएमा पार्टीमा पद र नेताहरूको संख्या बढ्ने देखिन्छ। यसलाई साइजमा राख्न महाधिवेशन गर्न खोजिएको हो’, साह भन्छन्।

नेपाल समाजवादी पार्टीसँग एकता गरेमा त्यहाँ जुन/जुन समितिमा राखिएको छ माओवादीमा समेत त्यहीत्यहीमा राख्नुपर्ने हुन्छ। साह भन्छन्, ‘त्यस्तो भएमा पार्टी कमिटी भद्दा हुन्छ। चल्नै सक्दैन।’ विशेष महाधिवेशन भएमा त्यसको व्यवस्थापन सहज हुने साह बताउँछन्।

कार्यकर्ताको जोड र महाधिवेशनअघिको प्रचण्डको प्रस्ताव

माओवादी केन्द्रको साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताले विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका थिए। ‘हाम्रो साउनको बैठकको निर्णय नै हो। पहिले नीति महाधिवेशन बोलाउने र त्यसपछि विशेष महाधिवेशन’, कोषाध्यक्ष ढकाल भन्छन्। सोही बैठकमा पार्टी चल्दै नचलेको गुनासो आएको थियो।

बैठकमा पार्टी नेताहरू सरकारमुखी भएको कारण पार्टी कमजोर भएको गुनासो थियो। यही कारण पनि बैठकले विशेष महाधिवेशन बोलाउने प्रस्ताव राखेको थियो। विशेष महाधिवेशन बोलाउने प्रस्ताव ८ औँ महाधिवेशनअघिकै हो। हुन त माओवादीको ८ औँ महाधिवेशन ‘महाधिवेशन’ थिएन। प्रचण्डले ‘राष्ट्रिय सम्मेलन’ भनेर प्रतिनिधि बोलाएका थिए। हठात् निर्णय गर्दै महाधिवेशनमा बदलिदिए।

‘निर्वाचन आयोगको बाध्यकारी नियमका लागि त्यसबेला राष्ट्रिय सम्मेलन बोलाइएको थियो,’ कोषाध्यक्ष ढकाल भन्छन्, ‘तर हाम्रो सबै प्रक्रिया महाधिवेशनकै जस्तो रह्यो। त्यसैले महाधिवेशन गर्‍यौँ।’ ढकायका अनुसार त्यसलाई राष्ट्रिय सम्मेलन भन्ने र एक वर्षभित्रमा ‘विशेष महाधिवेशन’ बोलाउने प्रचण्डको प्रस्ताव थियो। ‘चुनावका कारण एक वर्षभित्रमा विशेष महाधिवेशन गर्न सकिएन। अबको छ महिनाभित्रमा गर्ने तयारी थालिएको हो’, सचिव साह भन्छन्।

नेताको ‘सही’ जिम्मेवारीको खोजी

आठौँ महाधिवेशनमा प्रचण्डलाई पदाधिकारी चुन्न सकस परेको थियो। महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको अडानले प्रचण्ड समस्यामा परे। यही कारण महासचिवमा तेस्रो व्यक्ति ल्याउनुपर्ने बाध्यता आइलागेको नेताहरू बताउँछन्। महासचिवमा शर्मा र पुन दुवैले दाबी नछाडेपछि प्रचण्डले तेस्रो व्यक्तिका रूपमा गुरुङलाई अघि सारेका थिए। गुरुङबाट संगठन परिचालन र सुदृढीकरण हुन नसकेको गुनासो बढेको छ।

‘सही नेतालाई सही जिम्मेवारी दिनुपर्छ भनेर पार्टीमा आवाज उठिरहेको छ। अर्कोतर्फ भाबी नेतृत्वमा आउन सक्ने नेताको पनि खोजी हुन सक्छ’, सचिव साह भन्छन्। गुटगत राजनीतिलाई पनि सन्तुलित बनाएर अघि बढ्ने योजना प्रचण्डकोे छ। साह भन्छन्, ‘पार्टीमा कतिलाई जिम्मेवारी सही दिइयो। कतिलाई छैन। पदाधिकारीहरू पनि कामविहीन छन्। विभागहरू गठन भएकै छैनन्। यही कारण अर्को महाधिवेशन चाहिएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =