उद्यमशील हातहरू

खाडीबाट फर्केर करोडौँका मालिक बनेका घनश्याम

विजय नेपाल २४ असोज २०८० १५:३५
104
SHARES
खाडीबाट फर्केर करोडौँका मालिक बनेका घनश्याम

पोखरा- पोखरा महानगरपालिका-२५ हेमजाका घनश्याम तिमिल्सिना २० वर्षको छँदा रोजगारीको सिलसिलामा विदेश गए। खाडी मुलुक साउदी अरब, मलेसिया र कतारमा गरी उनले करिब ९ वर्ष पसिना बगाए। त्यसपछि उनलाई आफ्नै देशमा केही गरौँ भन्ने हुटहुटी जाग्यो। ४१ वर्षीय घनश्याम कास्कीमै सबैभन्दा ठूलो गाई फार्मका सञ्चालक हुन्। उनी उदीयमान व्यवसायीका रूपमा देखिएका छन्।

खाडीमा ड्राइभिङ गरेर बचाएको ३५ लाख सुरुको लगानी अहिले हेमजा गाई फार्म प्रालिमा १० करोड पुगेको छ। फार्ममा २०० गाई, ६० भैँसी र ४० बाख्रा छन्। मासिक १० लाखसम्म कमाउने उनी टमाटर खेती पनि गर्छन्। जहाँ ५५ टनेल छन्। साथै सिजनअनुसारका तरकारी पोखरा बजार पठाउँछन्।

छोटो समयमै सफलता चुमेका घनश्याम आफैँ काममा घोटिन्छन्। बिहान २/३ बजे नै ओछ्यान छाड्ने उनको दिनचर्या फार्ममै दूध दुहुने, घाँस काट्ने, रेखदेख र व्यवस्थापनमा बित्छ। ‘कमाउनका लागि विदेशमा जानुपर्छ भन्ने केही छैन,’ उनी भन्छन्, ‘लाखौँ खर्चेर विदेश जाने रकम स्वदेशमै लगानी लगाउने हो यहीँ भनेजस्तो गर्न सकिँदो रहेछ।’

नोकरी नपाएर विदेश हानिएका उनी यतिखेर पशुपालन र खेतीपातीमा रमाएर धेरैलाई रोजगार दिलाएका छन्। उनको फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

नेपालमै केही गरी युवावर्गलाई प्रेरित गर्ने सोचका साथ विदेशबाट फर्केर आफूहरूले व्यावसायिक रूपमा गाईपालन सुरु गरेको घनश्याम स्मरण गर्छन्। उनको अनुभवमा विदेशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपाली यहाँ काम गर्न हिच्किच्याउँछन्। तर उनलाई त्यस्तो लाग्दैन।

१५ वर्षअघि पोखरा-५ पर्स्याङमा साझेदारीमा पशुपालन थालेका हुन् उनले। हेमजाकै मधु त्रिपाठीसँग मिलेर ५० लाख लगानीमा हेमजा गाई फार्म चलाउँदा उनको करिब २३ लाख लगानी परेको थियो। पोखरा बजारको मुख्यकेन्द्रमै रहेको सो फार्ममा सुरुमा २६ गाई थिए। कत्ति पनि पानी नहाली गाईको दूध बेच्ने भएकाले फार्ममा सर्वसाधारणको ओइरो लाग्न थाल्यो। घनश्याम सबैको विश्वासको पात्र बन्न पुगे। उनको फार्म पनि चर्चित हुँदै गयो।

उनी सम्झिन्छन्, ‘त्यसबेला एउटै गाईको मूल्य एक लाख रुपैयाँसम्म पथ्र्यो।’ जर्सी र होलस्टिनबीचको क्रसिङबाट उत्पादित गाई उनीहरूले इलाम, झापा र चितवनबाट खरिद गरी ल्याएका थिए। फार्ममा ३ जना कामदार थिए। उनले भने, ‘हामीले ग्राहकको मन जित्दै गयौँ। धेरैले विश्वास गर्नुभयो। गाईको संख्या पनि थप्दै गयौँ।’

त्यसो त घनश्याम र मधुले गाई फार्म चलाएर सर्वसाधारणलाई दूध बेच्दा पोखरा बजारमा खुला रूपमा दूध बिक्री फस्टाएको थिएन। आवश्यक पर्नेले गाउँगाउँबाट मगाउँथे। कि त डेरीकै भर पर्नुपर्ने थियो। मानिसले घरखर्चका लागि मात्र गाईभैँसी पाल्थे। व्यावसायिक अवधारणा कमै थियो। आफूहरूले पाएको सफलता देखेपछि धेरैले पोखरा क्षेत्रमा गाईभैँसी फार्म खोलेको उनी बताउँछन्।

हेमजा गाई फार्म प्रालिका सञ्चालक घनश्याम तिमिल्सिना गण्डकी सरकारबाट सर्वोत्कृष्ट किसानका रूपमा पुरस्कृत भएका छन्।

पर्स्याङमा करिब चार वर्षसम्म फार्म चलाएपछि उनका सहयात्री मधु अमेरिका हानिए। घनश्यामले फार्मको स्वामित्व आफैँले लिए। हेमजास्थित घरमै फर्किए। त्यहाँ आफ्नो सात रोपनीमा हेमजा गाई फार्म प्रालि नाममा फार्म चलाउन थालेका हुन्।

दुई रोपनी थपेर फार्म बिस्तार गरे। १५० रोपनी भाडामा लिएको जग्गामा घाँस रोप्नुका साथै टमाटर तथा सिजनअनुसार तरकारीखेती गरेका छन्। लिजमा लिएको जग्गाको मात्रै उनले बर्सेनि २७ लाख भाडा तिर्छन्।

विगतमा जस्तो कमाइ छैन। दाना र चोकर महँगिएकाले व्यावसायिक रूपमा पशुपालन गर्नेहरूलाई गाह्रो भएको गुनासो घनश्यामको छ। ‘विगतमा ५० केजीको एक बोरा दानालाई १२ सय रुपैयाँ पथ्र्यो, अहिले महँगिएर ३५ किलोको बोरालाई मात्र दुई हजार तिर्नुपर्छ,’ उनले भने, ‘तराईबाट पराल मगाउनुपर्छ। एक बोरा पराललाई एक हजार रुपैयाँ तिर्नुपर्छ।’ उनका अनुसार प्रतिबोरा ४० किलो जति पराल हुन्छ।

आर्थिक मन्दीले पनि धेरै व्यवसायीलाई मार परेको उनी बताउँछन्। बेलाबेलामा गाईबस्तुको उपचारसँगै घाँस, चोकर, ढुवानी र कामदारको तलबमा उनको खर्च बढिरहेको छ।

घनश्यामले गाईभैँसीसहित उन्नत जातको बोयर बाख्रापालन गरेका छन्। एउटै बाख्राको मूल्य ५० हजारसम्म पर्छ। बोयर जातको बोका लगाउँदा एउटै बाख्रा ६ महिनामै करिब ५० हजार मूल्य बराबरको हुने उनले बताए।

यो सिजनमा फार्मका ५० गाई ब्याउँदै छन्। त्यसपछि अलि सजिलो हुनेमा उनी ढुक्क छन्। उत्पादित दूध तथा तरकारी बिक्रीका लागि बजारको समस्या छैन। फार्म नजिकै आफ्नै बिक्री केन्द्र पनि छ। त्यहाँ बिक्री हुन नसके पोखराभन्दा बाहिर जानु पर्दैन। घनश्यामले भावी योजना फार्म बिस्तार गर्ने रहेको सुनाए। उनले भने, ‘अर्गानिक तरकारी खेतीमा पनि जोड दिने योजना छ।’

छोटो समयमै मनग्ये आम्दानी गरेका घनश्यामको मेहनत देखेर सबै जना दंग छन्। गत वैशाखमा राष्ट्रपतिबाट पदक ग्रहण गरेका युवाका प्रेरणा स्रोत घनश्यामलाई गण्डकी प्रदेश सरकारले ‘सर्वोत्कृष्ट कृषक’ भनी ५० हजार नगदले पुरस्कृत गरेको थियो। सम्मान र पुरस्कारले उनका कोठा भरिएका छन्।

नेपाली युवा दैनिक ठूलो संख्यामा त्रिभुवन विमानस्थल छाडेको देख्दा घनश्याम सुझाउँछन्, ‘स्वदेशमै पसिना बगाउन सके, विदेश जानु पर्दैन। त्यहाँ पनि काम नगरी सुखै छैन। जोखिम उत्तिकै छ।’ पशुपालन र खेतीमा लाग्न चाहने आफूजस्ता युवालाई राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग छ। कुराकानीको बिट मार्दै उनले भने, ‘राज्यले पनि विभिन्न प्याकेजका कार्यक्रम ल्याएर युवालाई कृषितर्फ आकर्षित गर्न सक्नुपर्छ। सहुलियत ऋण उपलब्ध गराउनुपर्छ। अनि बिदेसिने क्रम रोकिन्छ।’

नेपालमा जे समायो त्यसमै छ पैसा

व्यापार छाडेर विदेशतिर

प्रकाशित: २४ असोज २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =