अचार उद्योगमा भ्याइनभ्याइ, ६ जनालाई रोजगारी

हिमाल प्रेस ११ मंसिर २०७९ १७:००
6
SHARES
अचार उद्योगमा भ्याइनभ्याइ, ६ जनालाई रोजगारी

काठमाडौँ– मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छन्- तारकेश्वर नगरपालिका- १० मनमैजुकी सरस्वती लोहनी अधिकारी।

आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर ३ वर्षमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्।

मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गरेको अचार उद्योगबाट आम्दानी गर्दै आएकी छन्।

तारकेश्वर उज्ज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिम लिएकी उनले नगरपालिकाकै कारण अचार बनाउन सुरु गरेकी हुन्। अधिकारी अहिले सो महिला समूहको सल्लाहकार छन्।

‘नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर गर्‍यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन गर्‍यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,’ उनले भनिन्।

तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौँको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दै आएकी थिइन्।

अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा लागेकी उनलाई अहिले अचार बनाउन नै भ्याइनभ्याइ हुने गरेको बताउँछिन्।

उद्योग सञ्चालनका लागि परिवार सदस्यले पनि राम्रो साथ र सहयोग गरेको उनी बताउँछिन्।

०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय ६ जनाले रोजगार पाएका छन्।

नियमित रूपमा ६ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदार संख्या बढानुपर्ने उनको भनाइ छ।

सुरुवाती समयमा ५० हजार रुपैयाँ लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ।

मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउँछिन्।

हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन्।

माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ। नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्री हुने गरेको छ। यस्तै क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताइन्।

वैदेशिक रोजगारी र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार खरिद गर्ने गरेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =