सहकारीले बदल्यो कर्णालीका महिलाको जीवन

रमा केसी ४ साउन २०८३ १५:२२ | Monday, July 20, 2026
4
SHARES
सहकारीले बदल्यो कर्णालीका महिलाको जीवन सामूहिक छलफलमा महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यहरू। तस्बिर : हिमालप्रेस

सुर्खेत- कुनै समय घरधन्दामा सीमित कर्णालीका हजारौँ महिला आज सहकारीको नेतृत्वमा उद्यमी, आत्मनिर्भर र निर्णयकर्ता बनेका छन्। उनीहरूको यो परिवर्तनको केन्द्रमा छन् आफ्नै संघर्षलाई शक्तिमा बदल्दै सहकारीमार्फत आर्थिक र सामाजिक रूपान्तरणको अभियान अघि बढाएका महिला नेतृत्व।

जन्मिएको तीन महिनामै आगलागीमा परेर दुवै खुट्टा गुमाएकी महिला जसको जीवनको थालनी असहजताबाट भयो। उनकै सक्रियता र नेतृत्वले अहिले सुर्खेतका महिलाको जीवन फेरिएको छ भन्दा धेरैलाई पत्यार लाग्दैन। उनीहरू आर्थिक रूपले सबल छन् र नेतृत्व लिनसमेत सक्षम छन्।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका महिलाको आर्थिक अवस्था फेर्न महत्त्वपूर्ण भूमिका खल्ने महिला हुन् दीपा राना। उनकै नेतृत्वमा अहिले त्यहाका महिलाले विभिन्न व्यवसाय गरेर आर्थिक लाभ लिइरहेका छन्।

दुवै खुट्टा नहुँदा विद्यालय जान दीपालाई ठूलो सकस थियो। हातले टेकेर विद्यालय जानुपर्दाको अथाह पीडाले पनि उनको आत्मविश्वासलाई रोकेन। शारीरिक सीमितताले उनको सोच कमजोर बनाएन। आफू मात्र होइन, गाउँका महिला पनि अरूको भरमा बाँच्नुपर्ने अवस्था बदल्ने सपना उनले त्यही बेलादेखि देखिन्। परिवारको साथ र सहयोगले उनले आँट बटुलिन् र अघि बढिन्।

२०६५ सालमा उनले गाउँमा प्रौढ शिक्षा कक्षा सुरु गरिन्। पढ्न-लेख्न सिकाउन थालेपछि उनले महिलालाई हरेकले २०/२० रुपैयाँ बचत गर्न प्रस्ताव राखिन्। बचत मात्र होइन आय आर्जन पनि गर्नुपर्छ भन्ने सोच बनाएर उनले अम्रिसो खेती र अन्य सामूहिक तरकारी खेती गर्न पनि उनले सुझाइन्। त्यसबाट भएको आम्दानी पनि महिलाले कोषमा जम्मा गरे।

२०६७ सालसम्म आइपुग्दा बचत रकम एक लाख पुग्यो र त्यति नै बेला सहकारी छलफल पनि चल्यो। आरम्भ सजिलो थिएन। समूहमा आबद्ध हुन आग्रह गर्न घरदैलोमा जाँदा लखेट्ने, ढुंगा हान्ने घटनासमेत भए। तर दीपाले हार मानिनन्। २०६७ सालमा महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेड नाम राखेर सहकारी दर्ता गरियो।

सुरुका दुई वर्ष उनले सहजकर्ताका रूपमा काम गरिन्। अहिले उनी व्यवस्थापकका रूपमा काम गरिरहेकी छन्। सहकारीमा अहिले गुर्भाकोटका तीन वडाका १७ सय ४० महिला सदस्य छन्। सहकारीको पुँजी २९ करोडभन्दा बढी र सेयर पुँजी दुई करोड ९७ लाखभन्दा माथि पुगेको उनले जानकारी दिइन्।

सहकारी, बचत र ऋणमा मात्र सीमित छैन। आफ्नै बिउ ग्रेडिङ उद्योग सञ्चालन, बिउ पैँचो दिएर उत्पादन गराउने र सहकारीले खरिदबिक्री गर्ने व्यवस्था गरिएको छ। ‘हामीले एक केजी बिउ पैँचो दिन्छौँ,’ उनले भनिन्, ‘उत्पादन भएपछि त्यो बिउ फिर्ता लिने र अरु खरिद गरेर हामीले नै बिक्री गरिदिन्छौँ, धान, गहुँ, मकै, कोदो, र अन्य तरकारी पनि लगाउन भन्छौँ।’

पशु तथा कृषि प्राविधिक सेवा पनि सहकारीले दिने गरेको दीपाले बताइन्। यस बिचमा महिलाको निर्णय क्षमतामा आएको परिवर्तनलाई दीपा सबैभन्दा ठूलो उपलब्धि मान्छिन्।

दीपाको नेतृत्वले सहकारी पनि योजनाबद्ध ढंगले सञ्चालन गरेको छ। २०६७-०७० सम्म सहकारीको प्रवद्र्धनमा ध्यान दिइयो। २०७०-०७३ सम्म पुँजी विस्तार, २०७४-०७८ सम्म नीति र प्रणाली निर्माण, २०७९-०८३ सम्म सुदृढीकरणका लागि विभिन्न व्यवसाय सुरु गर्ने र २०८४ देखि २०८९ सम्म व्यवसाय छनोट गरेर दीर्घकालीन मोडेलमा लैजाने र २०८९ पछि भने सहकारी स्वचालित रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन्। काम गर्दै जाँदा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएकी छिन्। उनी त्यसलाई व्यक्तिगत नभई सामूहिक उपलब्धि मान्छिन्।

किसानले उत्पादन गरेको आलु प्याकिङको अनुगमन गर्दै सहकारीकी व्यवस्थापक दीपा राना।

१३ वर्षअगाडि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ की भूमिसरा श्रेष्ठ सामाजिक परिचालकका रूपमा आफ्नै वडामा गठन भएका महिला समूह सञ्चालन गर्थिन्। एउटा वडाका १५ देखि २० जना महिलाहरूको समूह चलाउनुभन्दा सहकारी सञ्चालन गरेर धेरै महिलालाई उद्यमी बनाउन सकिन्छ भन्ने उनलाइ जहिल्यै लागिरहन्थ्यो।

त्यसका लागि उनी एक्लैको आँटले पुग्दैनथ्यो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेसनल नेपालले वीरेन्द्रनगरका १ देखि १२ नम्बर वडासम्म गठन गरेका महिला समूहमा उनले सहकारीको योजना सुनाइन्। ‘हेफरको परियोजना सकिएपछि एउटा समूहमा करिब एक-दुई लाख रुपैयाँ बचेको थियो,’ उनले भनिन्, ‘सहकारी खोलेको खण्डमा बचत भएको रकमको उचित सदुपयोग हुने सुझाव महिला दिदीबहिनीसमक्ष राखे उहाँहरूले पनि सहमति जनाउनुभयो।’ अन्ततः महिला समूहमा आबद्ध महिलाको आँट र साहसले सहकारी खोल्ने निधो गर्‍यो।

श्री सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर-१ भनी नामकरण पनि गरियो। इन्द्रा चालिसेको संयोजकत्वमा तदर्थ समिति गठन गरी २०६९ सालमा सहकारी दर्ता गरियो। सहकारीमा ९२ जना महिला सहभागी थिए।

सहकारी के-कसरी सञ्चालन गर्ने भन्ने कुरा थाहा नभएरै पनि त्यतिबेला आँट गरेको भूमिसरा सुनाउँछिन्। सोही समयदेखि नै उनी सहकारीको व्यवस्थापक भएर काम गरिरहेकी छिन्। ‘वीरेन्द्रनगरमा नाम चलेका सहकारीका अगाडि महिलाले नेतृत्व गरेर सहकारी खोल्नु कम चुनौतीपूर्ण थिएन। तर पनि आँट गरियो र सफल पनि भएर देखाइयो,’ उनी भन्छिन्। ९२ जना सदस्यबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर ९२ हजार सेयर पुँजी रहेको उक्त सहकारीको अहिले २२ लाख सेयर पुँजी छ। अहिले नगरपालिकाको १ देखि ४ नम्बर वडाका ६ सय ५८ जना महिला सहकारीमा आबद्ध छन्।

सहकारीबाट ऋण लिएर महिलाले डेरी, अर्गानिक खाद्यवस्तु संकलन केन्द्र, टेलर, विभिन्न कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। महिलाले कर्णालीमा हुने स्थानीय उत्पादनलाई नेपालका विभिन्न जिल्लामा पुर्‍याइरहेका छन्। करिब २० लाख लगानी गरेर महिलाले कर्णालीको अर्गानिक उत्पादन संकलन तथा बिक्री गरिरहेको व्यवस्थापक भूमिसरा बताउँछिन्।

कर्णालीकी भूमिसरा मात्र होइन दैलेखकी दुर्गा थापाले विगत चार वर्षदेखि सहकारीको नेतृत्व सम्हालिरहेकी छिन्। सुरुमा सामान्य वचत र ऋण लगानी गर्नका लागि गठन भएको नमुना महिला समूहबाट उनको नेतृत्वमा भगवतीमाई महिला कृषि सहकारी संस्था खोल्न सफल भएपछि उनको यात्रा महिलालाई आर्थिक रूपले सबल बनाउनेतर्फ मोडियो। सहकारीले छोटो समयमा सफलता हासिल गर्‍यो।

मासिक बचत सय रुपैयाँ मात्रै उठाउने र सेयर रकम आफ्नो इच्छाबमोजिम हाल्ने भनी सुरु गरिएको सहकारीमा बचतबाहेक ८४ हजार सेयर पुँजी थियो। अहिले त्यो पुँजी करिब १९ लाख ९४ हजार पुगेको छ। सहकारीले मुख्यमन्त्री कार्यालयको बिउँपुजी अनुदानमार्फत १५ लाख रुपैयाँको कार्यक्रम पाएको थियो। जसमा तीन लाख विविध खर्च र १२ लाख बिउँ पुँजीका लागि ऋण लगानी गरेर पुँजी बढेको अध्यक्ष दुर्गाको भनाइ छ।

अहिले सहकारीबाट महिलाले तरकारी खेती, बाख्रा पालन, भैँसी पालन, दालमोठ उद्योग सञ्चालन गरिरहेका छन्। सहकारीले आफ्नो कार्यक्रम विस्तार गरी अन्य उद्यम थप गर्ने योजना बनाइरहेको छ। अध्यक्ष दुर्गाले दुनाटपरी उद्योग सञ्चालन गर्दा प्रभावकारी हुने देखिएको भन्दै केही समयभित्र उक्त उद्योग खोलिने बताइन्। ‘महिलाबाट सञ्चालित भएकै कारण सहकारी विश्वास गरिँदैन,’ उनले भनिन्, ‘स्थानीय र प्रदेश सरकारले हामीलाई बेवास्ता गरेको जस्तो लाग्छ, महिलालाई सशक्त बनाउने खालका कार्यक्रम भए सहज हुन्थ्यो।’ महिलालाई सीपमूलक तालिम आवश्यक रहेको उनको भनाइ छ।

जुम्लाकी विष्णुमाया बुढा तिला गाउँपालिकाकी पूर्वउपाध्यक्ष हुन्। उनी हाल चन्दननाथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष छिन्। उनी गत भदौमा मात्रै उक्त सहकारीकी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्। यसअघि उनले तीन वर्षसम्म सहकारीको कोषाध्यक्षका रुपमा काम गरिन्। सहकारीको स्थापना २०३१ (सहकारीको स्थापना २०३१ सालमा भए पनि विभिन्न कारणले सहकारी बन्द भएपछि २०६८ सालदेखि पुनः सञ्चालनमा आएको हो।) मा भएको भनिए पनि पुन सञ्चालन भने २०६८ सालमा भएको हो। सहकारीको थालनी भने दुर्गा न्यौपानेको नेतृत्वमा भएको उनी बताउँछिन्। सहकारीको अहिले कर्णाली प्रदेशभर शाखा छन्। जसमा २५ हजारभन्दा बढी महिला सदस्य छन्।

सहकारीले प्रदेशभरि २१ वटा सेवा केन्द्र खोलेको अध्यक्ष विष्णुमायाले जानकारी दिइन्। जुम्लामा हुने स्थानीय उत्पादनको खरिदबिक्री गर्ने काममा पनि महिला सक्रिय भएर लागेका छन्। उक्त उत्पादन खरिद बिक्रीका लागि जुम्लामा पसल राखिएको छ जसको शाखा सुर्खेत र काठमाडौँमा छ।

कार्यालयमा बसेर काम गर्दै सहकारीकी व्यवस्थापक दीपा राना।

सहकारीको उद्देश्य ऋण लिने र दिनेमात्र नभई महिलालाई ऐक्यबद्ध बनाउने र उनीहरूलाई आर्थिक रूपले सक्षम बनाउने रहेको उनको भनाइ छ। ‘सहकारीमा बचत गर्ने, सहकारीबाट ऋण लिने र आफूले उत्पादन गरेका वस्तु फेरि सहकारीमा दिने हाम्रो नीति छ,’  उनले भनिन्, ‘ऋणको किस्ता तिर्ने पैसा छैन भने आफूले उत्पादन गरेको वस्तु दिएर किस्ता कटौती गर्न सक्ने व्यवस्था गरिएको छ।’ किसानलाई बजार नपाएर आफ्ना उत्पादन खेर फाल्न नदिने गरी सहकारीले काम गरेको अध्यक्ष विष्णुमायाले बताइन्।

सहकारीमा आबद्ध सदस्यहरूले सेयर सदस्य बनेको तीन महिना पुगेपछि तीन लाखदेखि एक करोडसम्म ऋण लिन पाउँछन्। आठ लाखसम्म ऋण लिँदा धितो राख्न नपर्ने उनको भनाइ छ।

कुनै समय घरधन्दामा मात्रै सीमित कर्णालीका महिला अहिले आफैँ पैसा कमाउने भएका छन्। यति हुदाँ पनि महिलाले नेतृत्व गरेका सहकारीमाथि मानिसले हत्तपत्त विश्वास नगर्ने सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर-१ की व्यवस्थापक भूमिसरा श्रेष्ठको गुनासो छ। ‘यही अवधिमा पुरुषले सञ्चालन गरेको सहकारी भएको भए धेरै प्रगति भइसकेको हुने थियो,’ उनले भनिन्, ‘तर हाम्रा कुराको संघ तथा प्रदेश सरकारले राम्रोसँग सुनुवाइ गर्दैन। स्थानीय सरकारले पनि हाम्रा दिदीबहिनीका लागि विशेष अनुदानको व्यवस्था गर्नुपर्ने हो।’

कर्णालीमा हाल तीन सय ११ वटा दर्ता भएका सहकारी छन् जसको कुल पुँजी करिब १५ अर्ब रुपैयाँ छ। यी सहकारीले १५ सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ

प्रदेशभरि करिब ६० वटा महिला सहकारी रहेको कार्यालयका सूचना अधिकारी भीम कार्कीले जानकारी दिए। ‘यीमध्ये कति सक्रिय छन्, कति निष्क्रिय छन्,’ उनले भने, ‘महिलाले सञ्चालन गरेको तथ्यांक हामीसँग अनुमानित छ तर महिलाको नेतृत्व त अन्य सहकारीमा पनि छन् ठ्याक्कै कति महिला सहकारीको नेतृत्वमा छन् भन्ने तथ्यांक छैन।’

सहकारीले कर्णालीका महिलामा वित्तीय पहुँच मात्र नभई नेतृत्व, समूह व्यवस्थापन र निर्णय क्षमताको पनि विकास गरेको जिल्ला सहकारी संघका प्रबन्धक ढाकाराम न्यौपाने बताउँछन्।
सहकारी मार्फत ससाना ऋण लिएर विभिन्न व्यवसाय गरी महिला आर्थिक रुपले सबल बनेको उनको भनाइ छ। संघले महिलाद्वारा सञ्चालित सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रबन्धक ढाकारामको भनाइ छ।

सरकारले प्रदेशमा सञ्चालित सहकारीलाई अनुदान दिने गरेको छ। प्रदेश तथा स्थानीय सरकारले महिला तथा अन्य सहकारीलाई कृषिमा आधारित ब्याज अनुदान दिने गरेका छन्। कृषि सहकारीहरूलाई १५ देखि २५ लाखसम्म ब्याज अनुदान दिने गरेको सहकारी सञ्चालक दुर्गा थापाले बताइन्। महिला सहकारीलाई मात्र नभई अन्य कृषि सहकारीलाई पनि अनुदान दिने व्यवस्था गरेको उनको भनाइ छ। उनका अनुसार प्रदेशले सहकारीलाई पठाएको अनुदान आवश्यकताका आधारमा सहकारीले किसानलाई दिने गरको छ।

सहकारी रजिस्ट्रारको कार्यालयका प्रमुख खिमानन्द अर्यालले कर्णालीमा महिलाले सञ्चालन गरेका सहकारीहरूका प्रमुख तथा सदस्यहरूलाई तालिम दिनबाहेक अन्य काम नगरेको बताए।
सहकारी विभागका अनुसार नेपालमा सहकारी संस्थाको संख्या ३२ हजार नौ ६५ पुगेको छ। देशभरका सहकारीमा ५४.५६ प्रतिशत सदस्य महिला र ४२.४७ प्रतिशत पुरुष आबद्ध छन्। सहकारी संघसंस्थाले ९० हजार दुई सय ६५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।

प्रकाशित: ४ साउन २०८३ १५:२२ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast