नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता भएपछि नियमित प्रक्रियाअनुसार केन्द्रीय बैंकले पटक–पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने गर्दछ ।
यसक्रममा यसपटक आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी जनाएको छ । राष्ट्र बैंकका अनुसार, ब्याजदर पनि अनलाइन बोलकबोलबाट निर्धारण हुनेछ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता तथा ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।



