उद्यमशील हातहरू

नेपालमा जे समायो त्यसमै छ पैसा

विवेक विवश रेग्मी २१ असोज २०८० १७:३८
32
SHARES
नेपालमा जे समायो त्यसमै छ पैसा शान्ता उप्रेती।

इटहरी- झापाको कमल गाउँपालिकाकी शान्ता उप्रेती दाहाल ०६६ सालमा वैदेशिक रोजगारका लागि इजरायल गइन्। इजरायलमा करिब ६ वर्ष बिताएकी उनले अन्य विभिन्न देशमा पनि काम गर्ने अवसर पाइन्। अवसरसँगै उनले विदेशमा अनेक हन्डर व्यहोरिन्। त्यही दुःखलाई पाठका रूपमा लिएर अहिले उनी आफ्नै ठाउँका महिलालाई आत्मनिर्भर बनाउन व्यस्त छिन्।

कमल गाउँपालिका-१ बाँसबारीमा १५ जना र कमल गाउँपालिका ६ मा २० जना महिलाले घरेलु उद्योगबाट विभिन्न सामान उत्पादन गरिरहेका छन्। अरू धेरै महिला घरेलु उद्योगमा सक्रिय छन्। यसमा कतिपय भने विदेश गएर आएका छन्।

शान्ताका अनुसार सुनसरी, मोरङ, झापा, इलाम, संखुवासभालगायतका जिल्लामा महिलाले उत्पादन गरेका सामग्री बजारसम्म पुर्‍याउने काम भइरहेको छ।

ढाका कपडाबाट सारी, सल, बर्को, खादा तथा कोटको कपडा उत्पादन गरिरहेको उनी सुनाउँछिन्। यस्तै पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड, महिलाको हाते ब्याग, फलफूलका अचार, परालका जुत्ता, बाँसका मुडा, माला, डल, चकटी तथा गरगहना उत्पादन गरिरहेको उनले बताइन्।

‘अबचाहिँ नेपालमा जे समायो त्यसमै पैसा छ भन्ने लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘नेपालीको काम नगर्ने, गफ ठूलो बानी छ। काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास धेरैलाई छैन।’

आफूहरूले उद्यमशील महिला जागरण केद्र संस्थामार्फत महिलाले उत्पादन गरेको सामाग्री किनेर बजारसम्म पुर्‍याइरहेको उनले बताइन्। ‘सीप सिकौँ, उद्यमशील बनौँ भन्ने उदेश्यसाथ हामीले महिलालाई रोजगारीको प्रबन्ध मिलाएका छौं,’ शान्ताले भनिन्, ‘घरघरमा महिलाले ढाकाका कपडा र सारी उत्पादन गरिरहनुभएको छ।’

उनले कतपिय स्कुले विद्यार्थीसमेत यसबारे बुझ्न आउने र विद्यालयमा प्रयोगात्मक शिक्षा लिइरहेको बताइन्। महिला घरको चुलोचौका मात्रै नभई आत्मनिर्भर बन्न सक्छन् भन्ने सन्देश दिन सक्रिय महिलालाई आफूहरूले प्रशिक्षणसमेत दिइरहेको उनको भनाइ छ।

प्रशिक्षणका लागि कसैले सहयोग गरिरहेको छ त? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘पालिकाले रकम र समय थोरै दिन्छ। पर्याप्त समय र आवश्यक लगानी भएमा सहज हुन्छ। अहिलेको अवस्था सहज छैन।’

उनी इजरायलमा आफूले गरेको दुःख र त्यहाँको खेती प्रणालीका कारण नेपालमै महिलालाई उत्पादनमा प्रोत्साहन गर्न सकिने विश्वासले उक्त काममा सक्रिय भएको सुनाउँछिन्।

‘इजरायलमा पाँच हजार बराबर एकजनाले इङ्लिस बुझ्ने अवस्था थियो। हामीले इङ्लिस नै बोले पनि बुझ्ने अवस्था थिएन,’ उनले भनिन्, ‘भाषा सिक्न धेरै काम गरेँ। चार महिना निकै दुःख भयो। सबैभन्दा बढी दुःख पाएको देश फ्रान्स हो।’

आफूले घर बनाउने क्रममा लागेको ऋण तिर्नका निम्ति विदेश जान बाध्य भएको उनी सुनाउँछिन्। विदेश गएकै कारण अहिले महिलालाई उत्पादनमा जोड्न सकेकोमा उनी प्रफुल्ल छिन्। ‘यहाँ कुनै केस पर्दा महिला बोल्नै नसक्ने अवस्था थियो। महिलालाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने प्रेरणा चाहिँ इजरायलमा रहेको खेती हेरेर सिकेँ,’ उनले भनिन्, ‘विदेशको सुख जति सुख भए पनि नेपालको दुःख प्यारो हुँदोरहेछ।’

उनीजस्तै यस्ता धेरैँ महिला विदेश गएर आएपछि आफ्नै गाउँठाउँमै घरेलु उत्पादनसँगै स्वरोजगारमा व्यस्त छन्। विदेश गएर फर्किएपछि आफ्नै गाउँठाउँमा रोजगार, व्यवसायमा सक्रिय महिलालाई ओरेक नेपालले सामाजिक पुनः एकीकरणका निम्ति विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

ओरेक नेपाल कोशी प्रदेश संयोजक सरस्वती दनुवारले आफूहरूले विदेशबाट आउने महिलालाई सरकारको निर्देशिकाअुनसार सामाजिक पुनः एकीकरणका लागि जोड्न खोजिरहेको बताइन्। विदेशबाट आएका महिलालाई समूह नै बनाएर ओरेकले काम गरिरहेको उनको भनाइ छ।

ओरेकले सुनसरी, मोरङ र उदयपुरमा अहिले समूह गठन गरेर महिला लक्षित कार्यक्रम आयोजना गरेको उनको भनाइ छ। ‘समाजमा पुनः एकीकरणका लागि एड्भोकेसी गर्ने काम गरिरहेका छौँ। उहाँहरू (विदेशबाट फर्किएका महिला) को क्षमता अभिवृद्धि र स्थानीय तहको स्रोतमा पहुँच पुर्‍याउन का गरिरहेका छौँ,’ दनुवार भन्छिन्, ‘कोही पनि महिलाले आफूले छनोट गरेको क्षेत्रमा गतिशील भएर काम गर्नुपर्छ भन्ने हो।’

ओरेकले सरकारले वैदेशिक रोजगारबाट आएका महिलाका निम्ति ल्याएको निर्देशिका अनुशरण गरेर संवादका कार्यक्रमसमेत आयोजना गरिरहेको छ।

मोरङको रंगेली, कानेपोखरी, उर्लाबारीजस्ता पालिकामा संवादका कार्यक्रम सञ्चालन गरिएको छ। दनुवारका अनुसार मोरङमा पाँचवटा समूह गठन गरिएको छ। एउटा समूहमा १३ देखि १६ जना महिला छन्।

सुनसरीको बराहक्षेत्र, कोशी, गढी र दुहबीमा संवादका कार्यक्रम भएका छन्। सुनसरीमा भने बराहक्षेत्रमा मात्रै समूह गठन गरिएको छ। उदयपुरको चौदण्डीगढी, त्रियुगा र उदयपुरगढीमा संवादसहित तीन समूह गठन गरिएको छ।

‘विदेशबाट फर्किएर पनि कुनै न कुनै काममा महिला सक्रिय हुनुहुन्छ। उहाँहरूलाई आ-आफ्नो योग्यताअनुसार काम गरिरहनुभएको छ,’ संयोजक दनुवारले भनिन्, ‘अहिले कोशी प्रदेशका तीन जिल्लामा मात्रै काम भइरहेका छन्। प्रदेशका अन्य जिल्लामा पनि यस किसिमको कार्यक्रम गर्ने तयारी छ। हालसम्म गठन गरिएका समूहले महिलालाई क्षमता अभिवृद्धिका निम्ति निकै सहज भएको छ।’

उनले सरकारको सामाजिक पुनः एकीकरण कार्यक्रमअन्तर्गत ओरेक नेपालले समन्वय गरेर काम गरिरहेकाले महिला लाभान्वित भएको विश्वास व्यक्त गरिन्।

‘स्थानीय पालिकामा महिलालाई संवाद गराउन हामीले अभ्यास गरिरहेका छौँ। जसका कारण महिलाले आफ्नो क्षमता प्रस्फुटन गरिरहनुभएको छ। यसले पनि आफ्नो रोजगार, व्यवसायमा निकै सहज भएको उहाँहरूले सुनाउँदा खुसी लाग्छ’, उनले भनिन्।

धेरैजसो महिला त जागिरे मात्रै भएका कारण मानसिक रूपमा प्रताडित छन्। तर स्वरोजगार बन्नसकेमा त्यस्ता किसिमका समस्या निर्मूल हुने विश्वास उनको छ। कतिपय जागिरे महिला सुत्केरी अवस्थामा बिदा नपाइरहेको, घरेलु हिंसामा परिरहेको, यौनजन्य हिंसामा परिरहेको तथा विभिन्न शारीरिक र मानसिक समस्यामा परिरहेको अवस्था छ। यस्तो अवस्थामा भने महिला सीप सिकेर आफैँ रोजगार बन्न सके आत्मनिर्भर बन्न सहज हुने जानकारहरू बताउँछन्।

नेपालको संविधान २०७२ को धारा ३८ मा भनिएको छ, ‘प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ। महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन।’

सरकारले हरेक वर्ष बजेट भाषण गर्दै आएको छ। तर महिला लक्षित र विदेशमा रोजगारी गरेर स्वदेश फर्किएका महिला लक्षित कुनै कार्यक्रम ल्याएको पाइँदैन। सरकारले बजेट भाषण गर्दा नीति, योजना तथा महिला लक्षित कार्यक्रम नल्याउँदा बिदेसिएर आएका महिला स्वदेशमै उद्योग, व्यवसाय गरिरहे पनि सहज नभएको बताइन्छ। स्थानीय पालिकाले बजेट भाषणमा महिलालाई समेट्ने प्रयत्न गरे पनि खास व्यावसायिक र औद्योगिक क्षेत्रमा सक्रिय महिला यसबाट वञ्चित छन्।

प्रदेश र स्थानीय सरकारले स्वरोजगार तथा आत्मनिर्भर कार्यक्रमअन्तर्गत महिलालाई तालिममा सहभागी गराए पनि त्यसले प्रत्यक्ष प्रभाव पारेको पाइँदैन। तालिम लिए पनि प्रभावकारी नभएको स्वमय् सहभागी महिला बताउँछन्। सरकारले बजेट सक्नका लागि मात्रै तालिम प्रदान गर्ने र तालिम लिनेहरू पनि भत्ताकेन्द्रित मात्रै भएको गुनासो आउने गरेका छन्।

व्यापार छाडेर विदेशतिर

प्रकाशित: २१ असोज २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =