भाडा नपाएरै घरबेटीले सब्जी खान पाएका छैनन्…

विवेक विवश रेग्मी ५ वैशाख २०८० १८:४९
776
SHARES
भाडा नपाएरै घरबेटीले सब्जी खान पाएका छैनन्… इटहरीचोक। तस्बिर : विवेक विवश रेग्मी

इटहरी– एक वर्षअघि पसलमा चहलपहल बाक्लै हुन्थ्यो। ग्राहक आइरहन्थे। घरबेटीले भाडाका लागि पनि किचकिच गर्दैनथे। अहिले पसलमा ग्राहक आउन छाडेका छन् भने महिना सकिनुअघि नै घरबेटीले भाडा मागेर हैरान बनाउन थालेका छन्।

इटहरीका प्रकाश नेपालको भोगाइ हो यो। इटहरीमा व्यापार सुरु गरेको एक दशक पुग्न लाग्दा अहिलेसम्मकै आर्थिक संकट खेप्नुपरेको उनी बताउँछन्। ‘व्यापार छैन, मान्छेहरू घुमफिर गर्न जानै छाडे,’ नेपाल भन्छन्, ‘अहिले बैँकले ब्याज घटायो र लगानी दिन छाड्यो। नघुमेकै कारण व्यापार धराशयी बन्यो।’

आफूले व्यापार सुरु गरेयता हालसम्म घरभाडा समयमै तिर्दै आएको उनको भनाइ छ। उनी भन्छन्, ‘अबचाहिँ घरभाडा तिर्नै धौधौ भएको छ।’ व्यापार भएका बेला घरबेटीले भाडाका लागि धैर्य गरे पनि अहिले भने दिनहुँजसो ताकेता गरिरहेको उनको भनाइ छ।  ‘घरबेटीले सब्जी खाने अवस्थै भएन भन्ने दिन आयो,’ नेपाल भन्छन्, ‘लाग्छ कि! भाडा नपाएरै घरबेटीले सब्जी खान पाएका छैनन्।’

नेपालका अनुसार इटहरीमा करोडौँ रुपैयाँको घरमा बस्नेहरूसँग सब्जी खाने पैसा नहुनु भनेको अर्थतन्त्र निकै धराशयी बनेको संकेत हो।  इटहरीमा मात्रै नभई कोशी प्रदेशका विभिन्न ठाउँका व्यवसायी अहिले व्यापार नहुँदा कोही पसल नाड्न बाध्य छन् भने कोही विदेश पलायन हुने अवस्थामा पुगेका छन्।

इटहरीकै व्यवसायी भोजराज प्याकुरेलको प्रश्न छ, ‘हाम्रो भविष्य अनिश्चित छ, केही कुराको सुरक्षा छैन। व्यापार कसरी सुरक्षित हुनु?’  सीमित मान्छेसँग मात्रै पैसा भएको र त्यो पैसा बजारमा ननिस्किएका कारण देशको अर्थतन्त्र संकटमा परेको प्याकुरेलको बुझाइ छ।

‘पैसा भनेकै घुम्ने हो, अहिले घुमाउने अवस्था छैन,’ उनी भन्छन्, ‘बैंकमा किस्ता तिर्ने ब्याजको ब्याजबाटै हो। अहिले बैँकले ब्याज र ऋण दिन छाड्यो।’ देशको अर्थतन्त्रका विषयमा राज्य गम्भीर नभएको उनको भनाइ छ।

इटहरी बजार।

पछिल्लो समय व्यापारको आकार घट्नुको मुख्य कारण बैँकको चर्को ब्याजदर, बजारमा देखिएको आर्थिक संकट र आममानिसमा निराशा रहेको उनी बताउँछन्।  इटहरीमै दुई दशकभन्दा बढी समयदेखि फेन्सीपसल सञ्चालन गर्दै आएका वसिम खान व्यापारलाई निरन्तरता दिन सकस भएको बताउँछन्।

‘साढे ८ प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्यो, व्यापार ठप्पजस्तै छ,’ उनी भन्छन्, ‘अनि कसरी व्यापारलाई निरन्तरता दिन सकिन्छ?’  पसल बेचेर बिदेसिनुपर्ने अवस्थामा रहेको उनको दुःखेसो छ। ‘घरभाडा महँगो छ, स्टाफ खर्च र बैंकको ब्याज जोड्दा त अहिलेको व्यापारले ३० प्रतिशत खर्च धान्न सक्ने अवस्था छैन’, खानले भने।

केही समययता बैंकको चर्को ब्याजदर, सरकारको नीतिगत कडाइ र आर्थिक क्षेत्र सहयोगी व्यवहार नहुँदा व्यापारको क्षेत्र संकटमा परेका कारण कोशी प्रदेशमा व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य संघ र विभिन्न व्यावसायिक संगठन आन्दोलित छन्।

उद्योग वाणिज्य संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेल अब चाँडै सरकारसँग वार्ता बसेर निष्कर्षमा पुग्ने बताउँछन्। अहिले व्यवसायी मारमा छन्, सरकारले म गर्छु, मिलाउँछु भने पनि कुनै समस्या सम्बोधन भएका छैनन्,’ पौडेलले भने, ‘उद्योगी-व्यवसायीसहित सबैको अभिभावक सरकार हो, सरकारले नै सम्बोधन नगरे भयावह अवस्था हुनेछ। उल्टै सरकार आफैँ बच्न खोजिराखेको छ।’

उद्योग वाणिज्य महासंघले सरकार र बैँकसँग बसेर अर्थतन्त्र समाधान गर्ने बाटोमा ‘लबिङ’ गर्ने उनको भनाइ छ। ‘बैँकमा अथाह पैसा छ, व्यवसायीले बेलैमा किस्ता र ब्याज बुझाउन नसक्दा लगानी गर्न पनि डराइरहेका छन्’, उनी भन्छन्, ‘अब महासंघले आफू मात्र बच्ने नभई सबैलाई बचाउने उद्देश्यका साथ छलफल गर्ने तयारी गरेको छ।’ नेपाल राष्ट्र बैँकले चाहेको अवस्थामा भने अर्थतन्त्र सहज हुने उनको विश्वास छ।

‘बैँकर्सले सिंगल वृद्धि  लिने तर लगानी चैँ १ प्रतिशत भन्दा नघटाउने भन्ने कुरा आएको छ,’ पौडेलले भने, ‘व्यवसायीको अवस्था गम्भीर छ, हामी साँच्चै मर्कामा छौँ।’

इटहरीमा मात्रै उद्योग वाणिज्य संघमै दर्ता भएका चार हजार आठ सय १० व्यवसाय सञ्चालनमा छन्। तीबाहेक अन्य दर्जनौँ व्यवसाय भने उवासंघमा दर्ता छैनन्। तर व्यवसायको आकार घट्दै जाँदा व्यापारीहरू निराश बन्न थालेका छन्।

प्रकाशित: ५ वैशाख २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =