कार्कीको राजीनामापछि कोशीमा सरकारको नेतृत्व गर्न रस्साकस्सी सुरु

विवेक विवश रेग्मी २० असोज २०८० १९:१०
88
SHARES
कार्कीको राजीनामापछि कोशीमा सरकारको नेतृत्व गर्न रस्साकस्सी सुरु

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएसँगै कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे रस्साकस्सी सुरु भएको छ।

गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्काीले शनिबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएसँगै गठबन्धन दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे छलफलसँगै शीर्ष तहमा रस्साकस्सी गर्न थालेका छन्।

सरकार गठनका लागि कांग्रेस र माओवादीले दाबी गरेको छ। गठबन्धन दलमै रहेको नेकपा एकीकृत समाजवादी भने पर्ख र हेरको स्थितिमा छ।

प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान गरेको मितिभित्र सरकार बनाउनेगरी छलफल सुरु भएको नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले बताए। उनले अहिले कानुनी परामर्शसमेत भइरहेको बताए। ‘सरकार निर्माणका लागि हाम्रो पनि दाबी रहेको छ। सहयात्री दलहरूबीच पनि छलफल जारी छ,’ राईले हिमाल प्रेससँग भने, ‘कांग्रेसको दाबी रहिरहँदा सहयात्री दलहरूको पनि कुरा रहन्छ। शीर्ष नेतृत्वको पनि इच्छा हुन्छ।’

उनले कोशी प्रदेश सरकार गठनका लागि केन्द्रीय नेतृत्वको पनि इच्छा हुने संकेत गरे। कांग्रेसमा संसदीय दलको नेताबाहेक मुख्यमन्त्री बन्ने कुरा मिडियामा आइरहँदा त्यो सम्भावना नरहेको उनले बताए। ‘कांग्रेसमा संसदीय दलको नेताबाहेक मुख्यमन्त्री बन्ने कुरा मिडियामा चाँही आउँछ,’ उनले भने, ‘संसदीय दलका नेताबाहेक मुख्यमन्त्री बन्ने कुरा सम्भावना कम छ।’

उनले यदि कांग्रेसको नेतृत्वमा सरकार बने संसदीय दलका नेता उद्वव थापा नै मुख्यमन्त्री हुने बताए। खासगरी कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान छ।

तर, संविधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ। उपधारा ५ अनुसार सरकार गठन हुने भएपछि जो सुकैले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछ।

यसअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्वव थापाले भने, ‘अब मुख्यमन्त्री बन्न दलको नेता जरुरी छैन। तर दल त छ, दलको निर्णय त हुन्छ नि। दल मात्र छैन, गठबन्धन पनि छ। गठबन्धन तोडेर हामी मुख्यमन्त्री बन्न जान्छौं?’

उनले यसअघि आफू मुख्यमन्त्री बने पनि काम गर्ने अवसर नपाएको बताएका थिए। ‘दाबी मेरो पनि छ। तर, नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरूले टुंगो लगाउनुहुन्छ। गठबन्धनको निर्णयलाई हामीले कार्यान्वयन गर्छौँ,’ उनले भने, ‘दलको नेताबाहेक मुख्यमन्त्री बनाउने विषयमा किन तयार हुने ? दलभित्र अनुशासन हुन्छ।विधानअनुसार दल चल्छ।’

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि गठबन्धनसँग बहुमत छ। तर, कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे यकिन भइसकेको छैन।

कुल ९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा

प्रकाशित: २० असोज २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =