कोशी : एमाले-माओवादीले पेस गरेको संकल्प प्रस्ताव पारित, अधिवेशन अन्त्य

हिमाल प्रेस ७ वैशाख २०८१ १७:१८
38
SHARES
कोशी : एमाले-माओवादीले पेस गरेको संकल्प प्रस्ताव पारित, अधिवेशन अन्त्य

इटहरी- कोशी प्रदेशमा संकल्प प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो।

संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुख अम्बरबहादुर बिष्टले स‌ंकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी गराए। यस्तै प्रस्तावको पक्ष विपक्षमा रहेका मतगणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन्। यसै गरी मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको जानकारी गराएका थिए।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव यसअघि पेस गरिएको थियो।

संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ। ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्ने प्रस्तावमा उल्लेख छ।

यता, मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव संविधानविपरीत आएको र आफू संविधानको धारा भन्दा बाहिर नजाने बताउँदै आएका छन्।

यसै गरी संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै सभामुख विष्टले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =