पानी, दूध र खानेतेलको अनुगमन गर्दै काठमाडौँ महानगर

हिमाल प्रेस २३ भदौ २०८० १६:१०
32
SHARES
पानी, दूध र खानेतेलको अनुगमन गर्दै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दैनिक उपभोग्य पानी, दूध र तेल क्षेत्रमा अनुगमन गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्ने उद्देश्यले अनुगमन गरेको हो।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपभोगको वातावरण सिर्जना गर्न अनुगमन थालिएको बताए। उनका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ। भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिने उनले बताए।

चालु आर्थिक वर्षभर अनुगमन अभियान चलाइने विभाग प्रमुख डा. झाले बताए। ‘जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ,’ उनले भने।

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ। ‘पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ, त्यो पानी कसको हो भनेर पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो,’ झाले भने।

पानी आउने मुख्य नाकामा क्रमिक रूपमा अनुगमन गरिरहेका पनि उनले बताए। अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरूप अनुगमनलाई कडाइ गरिएको हो।

निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ। अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ। सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ।

काठमाडौँ महानगरमा जति पनि पानी उत्पादक संस्था छन् तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा. झाले बताए। ‘अहिलेसम्म सचेतमात्र गराइरहेका छौँ,’ उनले भन, ‘अब कुनै कैफियत देखिए कारबाही गर्छौँ।’

विभागले नेपाल वाटर बोटल उद्योग संघका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ। ‘जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरुलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्‍यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्‍यो,’ डा. झाले भने।

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उनले बताए। काठमाडौँ महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गरिरहेका छन्। काठमाडौँमा जम्मा चार कम्पनी रहेका छन्।

अनुगमनका क्रममा जफत गरिएका पानीको जार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा महानगरको बजार व्यवस्थापन ऐन, २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागको भनाइ छ। पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ। रासस

प्रकाशित: २३ भदौ २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =