मेलम्ची बन्द हुँदा उपत्यकामा बागमतीको पानी वितरण

हिमाल प्रेस ३१ साउन २०८० १५:५६
30
SHARES
मेलम्ची बन्द हुँदा उपत्यकामा बागमतीको पानी वितरण

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ। वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी आएकाे छैन।

अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे ५ करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) ले जानकारी दिएको छ।

बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए। ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ। बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ,’ प्रवक्ता राईले भने।

उनका अनुसार केन्द्रमा आएपछि मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ। वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको उनकाे भनाइ छ।

मागकाे तुलनामा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभए पनि धेरै राहत पुगेकाे उनले बताए। ‘उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन,’ उनले भने।

बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उनले बताए। प्रवक्ता राईका अनुसार केयूकेलले  त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ। तर विस्तारकाे काम पूरा भैसकेको छैन।

काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो।

तीन वर्षअघिदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिबाट आएको बाढीका कारण सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो।

गत वर्ष हिउँदमा मेलम्चीकाे पानी काठमाडाैँ उपत्यकामा ल्याइएको थियो। हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइन्छ। त्यो पानी र लिमिटेडको आफ्नो उत्पदानका कारण उपत्यकामा खानेपानीको आपूर्ति केही सहज भएकाे थियाे। रासस

प्रकाशित: ३१ साउन २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =