बजार अनुगमनको विरोधमा व्यापारीको प्रदर्शन

हिमाल प्रेस १३ फागुन २०७९ २०:४३
12
SHARES
बजार अनुगमनको विरोधमा व्यापारीको प्रदर्शन

सर्लाही- सर्लाहीको हरिवनमा बजार अनुगमनको विरोध गर्दै व्यापारीले प्रदर्शन गरेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गतको वीरगञ्ज कार्यालयको अनुगमन टोलीले बजार अनुगमन गरेको भन्दै व्यापारीले प्रदर्शन गरेका हुन्।

अनुगमन टोलीले पूर्वसूचनाबिना अचानक बजार अनुगमनमा आएको भन्दै व्यापारीले विरोध गरे। बजार अनुगमनको विरोधमा आक्रोशित व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध समेत गरेका थिए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले हरिवन बजार पुगेर अनुगमन गरेको थियो। अनुगमनको क्रममा सामान्य गल्ती, कमी–कमजोरीमा पनि जरिवाना असुल गरेको व्यवसायीको भनाइ छ।
उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले पूर्वजानकारी बिना नै अनुगमन गरिएको भन्दै गुनासो गरे। एनले अहिले मुलुकको परिस्थितिअनुसार बजार अनुगमनको आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो।

बजार अनुगमन गर्नु स्वभाविक भए पनि अहिले देशको आर्थिक समस्याका कारण व्यापारीहरू आत्मदाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीलाई झन तर्साउने चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए।

बजार अनुगमनका क्रममा अनुगमन टोलीले व्यापारीका सामान्य कमी–कमजोरीमा पनि सचेत गराउनुपर्नेमा एकैपटक जरिवाना तोकेका कारण व्यापारी आक्रोशित बनेका उनको भनाइ थियो। उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसायीलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज कार्यालयका निमित्त प्रमुख सुरेशकुमार रेग्मीले बताए।

देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नुनपर्ने भन्ने नरहेको उनको भनाइ थियो। व्यापारीहरूले राज्यको कानून पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानूनी कार्य भएका छन् कि छैनन् हेर्न सरकारको दायित्व रहेको उनको भनाइ थियो। व्यापार–व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानूनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेतसमेत गराइएको रेग्मीको भनाइ थियो। राज्यले तोकेको कानूनको पालना गर्ने व्यापारीलाई अनावश्यक दुःख नदिएको उनले स्पष्ट पारे।

अनुगमन टोलीले मानवीयता त्यागेर व्यापारीलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन्। स्थानीय व्यापारीको विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको थियो। रासस

प्रकाशित: १३ फागुन २०७९ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =