सडक अनुगमनमा गएका यातायातमन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की

हिमाल प्रेस १८ फागुन २०७९ १९:४६
8
SHARES
सडक अनुगमनमा गएका यातायातमन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की अनुगमनका क्रममा उपप्रधान एवम् भौतिकमन्त्री श्रेष्ठ। फाइल तस्बिर- रासस

काठमाडौँ- भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र स्थानीय सर्वसाधारणबीच चर्काचर्की भएको छ।
बिहीबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली उक्त सडकखण्डको अनुगमनका लागि गएका थिए।

सोही बेला स्थानीय सर्वसाधारणले वर्षौंदेखि आश्वासन मात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेर आक्रोश पोखे। अनुगमनमा मन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डीजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि अनुगमनमा गएका थिए।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीले ९ वर्षसम्म बाटो नबनाएको र सडककै कारण रातदिन दुःख पाएको गुनासो गरेका थिए। स्थानीयले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे। खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म आफूहरूलाई गुमराहमा राख्ने भन्दै प्रश्न पनि गरे। ‘कालोसुचीमा राखेर कारबाही गर्नुपर्ने ठेक्केदार कम्पनीहलाई सरकारले किन पक्षपोषण गरिरहेको?’ स्थानीयको प्रश्न थियो।

अहिले काम गरिरहेको ठेकेदार कम्पनीले पनि काम नगरेकाले उक्त कम्पनीसँगको ठेक्का पनि रद्ध गर्न स्थानीयले माग गरेका छन्। मन्त्रीले स्थानीयको माग सम्बोधन हुने र समयमा नै काम सक्ने आश्वासन दिए। उनले हेलचक्र्याँइ भएको तर अबका दिनमा नहुने बताए।

टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्म सडकको अनुगमन गरेको हो। सैलुङ कन्स्ट्रक्सनले कमलविनायक-नगरकोट सडकखण्ड निर्माणको ठेक्का पाएको छ। तर पटकपटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन। सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती पाइरहेका छन्।

प्रकाशित: १८ फागुन २०७९ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =