११ वर्षपछि खुल्यो बागलुङमा चार पांग्रे सवारी चालक अनुमतिपत्र आवेदन

हिमाल प्रेस १८ भदौ २०८० ७:५१
8
SHARES
११ वर्षपछि खुल्यो बागलुङमा चार पांग्रे सवारी चालक अनुमतिपत्र आवेदन

म्याग्दी- म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ।

अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपांग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बीसीईएफ) र (जीवर्ग चार पांग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए।

बागलुङमा हाल (एरके वर्ग दुई पांग्रे)को मात्र परीक्षा सञ्चालन हुुने गरेको छ। नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपांग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन।

‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौँ’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो। यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ।’

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो। दुईपांग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपांग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिंगै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए।

प्रकाशित: १८ भदौ २०८० ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =