गौरका जनता आपराधिक कलंकबाट छिटो मुक्ति चाहन्छन् : प्रभु साह

हिमाल प्रेस ७ भदौ २०८० १५:४८
12
SHARES
गौरका जनता आपराधिक कलंकबाट छिटो मुक्ति चाहन्छन् : प्रभु साह

काठमाडौँ- आमजनता पार्टीका सांसद प्रभु साहले गौरका जनताले आपराधिक कलंकबाट छिटो मुक्ति चाहेको बताएका छन्। गौर हत्याकाण्डका दोषीहरूमाथि कारबाही हुनुपर्ने माग गर्दै उनले उक्त कुरा बताएका हुन्।

साहले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै भने, ‘गौरका जनता हत्याकाण्डको कलंकबाट थिचिइराख्न चाहँदैनन्। त्यहाँका आमजनता यस्ता आपराधिक कलंकबाट मुक्ति चाहन्छन्। घटनाको निष्पक्ष छानबिन चाहन्छन्। यस्ता कलंकबाट मुक्ति चाहन्छन्।’

गौर हत्याकाण्डका पीडितसँग सरकारले साउन २३ गते पाँचबुँदे सहमति गरे पनि पछिल्ला दिनमा सहमति कार्यान्वयनमा शंका उत्पन्न भएको उनको भनाइ छ। उनले भने, ‘गौर हत्याकाण्डका विषयमा के भइरहेको छ म जान्न चाहन्छु।’

सरकारले पीडितसँग हत्याकाण्डविरुद्ध परेको जाहेरीमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने, मृतकलाई सहिद घोषणा गर्ने, घाइते र अपांगहरूको उपचार गर्नेलगायतका विषयमा सहमति गरेको छ। सहमतिको केही दिन नबित्दै गठबन्धनका नाउँमा केही भ्रमपूर्ण कुराहरू आइरहेका कारण गौरका पीडित जनता चिन्तित बनेको साहले बताए। उनले आमजनता पनि सशंकित भएको बताए।

साहले नेपालमा कानुनको शासन छ भने सबैलाई बराबरी व्यवहार हुनुपर्नेमा जोड दिए। साहले प्रश्न गरे, ‘नेपालमा कानुनको शासन छ कि छैन? कानुन सबैलाई लाग्छ कि लाग्दैन? कानुनको शासन छ र सबैलाई कानुन लाग्छ भने १७ वर्ष बितिसक्दा पनि पीडितले किन न्याय पाउन सकेनन्? हत्याराहरू किन कानुनको दायरमा आउन सकेनन्?’

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २८ जनाको ज्यान गएको थियो। साहले भने, ‘त्यो हत्या हैन नरसंहार थियो, स्वचालित हतियारको प्रयोग गरिएको थियो। मान्छे लखेटी लखेटी मन्दिरमा बलि चढाइएको थियो। महिलालाई बलात्कार गरेर हत्या गरिएको थियो।’ साहले त्यति बेलाको पोस्टमार्टम रिपोर्ट र छानबिन रिपोर्टहरूले पनि यही तथ्य औँल्याएको बताए।

उनले भने, ‘यस्तो विभत्स हत्याकाण्डको १७ वर्ष पुग्दा पनि हत्याराहरू खुलेआम हिँडिरहेका छन्। पीडितहरू न्यायका लागि सडकमा छन्। यो दुर्भाग्यपूर्ण स्थितिलाई हामीले के भन्ने?’ साहले त्यति बेला जाहेरी दर्ता भए पनि शक्तिको आडमा प्रहरीले छानबिन नै नगरेको आरोप उनले लगाए। यसबारे प्रहरीको पनि धारणा सार्वजनिक हुनुपर्ने साहले बताए।

यस्तै बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर छानबिन भए पनि प्रतिवेदन सार्वजनिक नगरिएको उनको भनाइ छ। साहले भने, ‘आयोगको रिपार्ट कहाँ छ? सरकारसँग सोध्न चाहन्छु। ती जाहेरीको अवस्था के छ? जान्न चाहन्छु। जाहेरी दर्ता छ, के भइरहेको छ थाहा छैन। त्यति हुँदा पनि कारबाही नहुने?’

घटनामा संलग्न व्यक्तिहरू विभिन्न पार्टीमा प्रवेश गरेर घटना ढाकछोपमा लागेको आरोप उनले लगाए। ‘हत्याराहरूले धम्क्याउने, सत्ताको बलमा थर्काउने काम भइरहेको छ’, साहले भने।

प्रकाशित: ७ भदौ २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =