घरको आँगनमा अजिंगर देखिएपछि…

हिमाल प्रेस ४ भदौ २०८० २०:१२
12
SHARES
घरको आँगनमा अजिंगर देखिएपछि… बाँकेको राप्तिसोनारी गाउँपालिका-८ बालापुरस्थित सोमबार स्थानीय लौटन चौधरीको घरको आँगनबाट उद्धार गरिएको करिब १० फिट लम्बाई र १२ केजी तौलको अजिंगर । तस्बिरः रुपनी जि एम/रासस

जानकी (बाँके)- बाँकेको राप्तिसोनारी गाउँपालिका-८, बालापुरबाट अजिंगरको उद्धार गरिएको छ। स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज (सोमबार) करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिंगर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए।

उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिंगरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजंग चन्दले जीवितै उद्धार गरेका थिए। त्यसपछि सो अजिंगरलाई निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ।

शाहले बाँकेको अन्य क्षेत्रमा अजिंगर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्राय अजिंगर भेटिने गरेको बताए।

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाको खल्लागाउँ, ओभरी, शम्शेरगञ्ज र बालापुर गरी चार वटा गाउँबाट अजिंगरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए।  उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ विभिन्न स्थानबाट १२ अजिंगरको उद्धार गरिएको थियो।

बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठ/नौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजंग चन्दले नै सर्पको उद्धार गर्दै आइरहेका छन्। रासस

प्रकाशित: ४ भदौ २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =