‘गौर’ देखाएर उपेन्द्रको सत्ता ‘बार्गेनिङ’

प्रधानमन्त्रीले ‘नआत्तिन’ भन्दा पनि त्रसित जसपा

हिमाल प्रेस ३० साउन २०८० ७:०७
6
SHARES
‘गौर’ देखाएर उपेन्द्रको सत्ता ‘बार्गेनिङ’

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरू सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो।

जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा उठ्यो। जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ। कानुनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’

यस्तै बैठकमा बालुवाटार जग्गा प्रकरणबारे अदालतले नीतिगत निर्णयमा फैसला गर्नु उचित भए नभएको बारेमा पनि छलफल भएको पाण्डेले बताए।
पछिल्लो समय गृहमन्त्रालयले गौर पीडितसँग सम्झौता गरेसँगै जसपा रुष्ट छ। पुरानै जाहेरीका आधारमा कारबाही गर्न खोज्नु गलत भएको जसपाको निष्कर्ष छ।

जसपाको बार्गेनिङ
जसपाले बारम्बार गौरको छानबिन गरे सत्ता छाड्ने बताइरहेको छ। यसअघि पनि गठबन्धनका शीर्षनेता कहाँ पुगेर उपेन्द्रले सोही कुरा बताएका थिए।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल यो घटनाप्रति नडराउन आश्वासन दिएका थिए।  गौरमा उपेन्द्रको प्रत्यक्ष संलग्नता रहेको घटनाको जाहेरीमा छ।

१७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा ९तत्कालीन मधेशी जनअधिकार फोरम० का अध्यक्ष यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ ।

त्यही घटनाको अनुसन्धान अघि बढाउनेलगायत ५ बुँदामा गृह मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको हो ।

गृहमन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिका तर्फबाट अध्यक्ष रूपसागरदेवी उपाध्यायले हस्ताक्षर गरेको सहमतिमा घटनापछि दर्ता भएका जाहेरीसमेतलाई अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

रौतहटको गौरस्थित राइस मिलमा २०६३ चैत ७ गते एकै दिन पारेर मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले कार्यक्रम राखेका थिए । कार्यक्रम सुरु नहुँदै मञ्च तोडफोड र हिंसात्मक घटना भएको थियो, जसका कारण २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

घटनापछि स्थलगत अध्ययनमा गएको राष्ट्रिय मानवअधिकार आयोगले तयारीका साथ आएका फोरम कार्यकर्ताले व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अमानवीय र क्रूर तरिकाले हत्या गरेको प्रतिवेदन तयार गरेको थियो।

छाड्लान् सत्ता?
उपेन्द्रले तत्काल सत्ता छाडिहाल्ने सम्भावना नभएको उनी निकट नेताहरू सुनाउँछन्। सत्ताबाहिर रहँदा झनै कमजोर हुने भयले पनि  सत्ता नछाड्ने ती नेताहरूको भनाइ छ।

‘घटनालाई ब्याक पार्ने मात्र उनको निष्कर्ष रहेको छ। सत्ता छाड्ने सम्भावना छैन।’ मधेश केन्द्रित एक नेता भन्छन्। सत्ता छाडेमा उपेन्द्र आफै कमजोर हुने देखिन्छन्।

किनकि, संघदेखि प्रदेशसम्म उनकै हालीमुहाली छ। मधेश प्रदेशको मुख्यमन्त्री जसपाकै छन् भने केन्द्रमा पनि दुई मन्त्री छन् । वर्तमान सत्ता समीकरणकै कारण उनको पार्टीले उपराष्ट्रपति पाएको छ।

प्रकाशित: ३० साउन २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =