अरूलाई चिरिच्याँट्ट पार्ने मनिता

विवेक विवश रेग्मी २४ साउन २०८० १८:५४
274
SHARES
अरूलाई चिरिच्याँट्ट पार्ने मनिता मेकअप स्टुडियोमा व्यस्त इटहरीकी मनिता तामाङ।

इटहरी- अचेल इटहरीकी मनिता तामाङ ‘फेस्को मेकअप  स्टुडियो’मा व्यस्त छिन्। ग्राहकको सेवामा जुट्नुका साथै बोल्न पनि भ्याइनभ्याइ छ उनलाई। आमा पन्छी वाइबाले ३५ वर्षअघि खोलेको मेकअप स्टुडियोलाई मनिताले २० वर्षयता निरन्तरता दिँदै आएकी छन्। ‘आमाबाट सुरु भएको बिजनेस मैले निरन्तरता दिएकी हुँ’, उनले भनिन्, ‘आमाले २५ हजार लगानीमा सुरु गर्नुभएको बिजनेस मैले बढाएर अहिले २५ लाखको बनाएकी छु।’

कोशी प्रदेशका धेरैजसो जिल्लाबाट उनीकहाँ मेकअपका लागि सेवाग्राही आउँछन्। कोही अनुहारमा पिम्पल आएका कारण, कोही चाउरी परेका कारण, कसैको अनुहारमा घाउ आएका कारण त कोही कपाल स्ट्रेट गर्न आउँछन्। महिलामात्र होइन, उनी पुरुषलाई समेत शृंगार गर्दै आएकी छन्। आफ्नो व्यवसाय प्रवद्र्धनका लागि पछिल्ला दिनमा फेसबुक, टिकटिक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग गरेको उनी बताउँछिन्।

‘पहिलेपहिले महिलालाई मात्रै सेवा दिने गरेका थियौँ। महिला र पुरुष बराबरी हो झैँ लागेर अहिले पुरुषलाई पनि सेवा दिइरहेका छौँ,’ उनले हँसिलो मुद्रामा सुनाइन्, ‘अन्यत्रभन्दा भिन्न भएका कारण पुरुष पनि विभिन्न समस्या लिएर आउनुहुन्छ। हामी शृंगार गरेर पठाउँछौँ।’

उनका अनुसार ताप्लेजुङ, संखुवासभा, इलाम, विराटनगर, बिर्तामोडदेखि मधेश प्रदेशको जनकपुरसम्मका मानिस शृंगारका लागि स्टुडियोमा पुगेका छन्। उनी भन्छिन्, ‘कतिपयले यहाँ आएर सेवा लिनुभएको छ, आउन नभ्याउनेलाई प्रोडक्ट दिएसँगै सल्लाह दिएर पनि सेवा प्रदान गरिरहेकी छु।’

उनले पुरुषका लागि फेसियल, प्लाज्मा ट्रिटमेन्ट, हेयर कलर र हाइफुजस्ता सेवा प्रदान गरिरहेको सुनाउँछिन्। ‘हामीकहाँ दैनिक १२ जनाभन्दा बढी २० जनासम्म सेवा लिन आउनुहुन्छ, त्यसमा पुरुष पनि उत्तिकै संख्यामा आउनुहुन्छ,’ मनिता भन्छिन्, ‘कुनै-कुनै काम थोरै गर्दा पनि धेरै पैसा हुन्छ, कुनै काम धेरै गरे पनि पैसा कम हुन्छ।’

उनले कोशी प्रदेशमै पुरुषका लागि प्लाज्मा ट्रिटमेन्ट र हाइफु आफूले सुरु गरेको बताइन्। ‘मैले सोसियल साइटमार्फत आफ्नो कामबारे प्रचार गर्दा हिजो युनिभर्सिटीबाट पनि फोन आयोे, यसले निकै खुसी लाग्यो,’ उनले भनिन्, ‘अहिले दैनिक कम्तीमा पनि २० देखि २५ हजार रुपैयाँ कमाइ हुन्छ।’

उनले मेडिकल क्षेत्रमा सीएमए पढेकी हुन्। पारिवारिक समस्याका कारण यस क्षेत्रमा लाग्दै यहाँसम्म आइपुगेको उनले बताइन्। ‘मैले मेडिकल फिल्ड पढेको हुँ, तर घरमा दाइ बितेपछि आमालाई पार्लरमा बस्न गाह्रो भएकाले मैले त्यसबेला सहयोग गरेकी थिएँ,’ उनले भनिन्, ‘पार्लरमा बसेपछि यही क्षेत्रमा केही नयाँ प्रयोगसाथ काम गर्न सक्छु जस्तो महसुस भयो, अहिले खुसी छु। मैले पढेर सरकारी जागिर खाँंदा ३० हजार कमाइ हुन्थ्यो होला, अहिले दिनकै ३० हजारसम्म कमाइ हुन्छ।’

अरूलाई सिँगार्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ। ‘काम गरेको पैसा लिए पनि उहाँहरू खुसी बन्दा मलाई धेरै आनन्द आउँछ,’ उनले भनिन्, ‘पैसाबिना भगवानलाई त भेट्न सकिँदैन। मन्दिर जाँदा पनि धुप, बाती र फूलभेटी लिएर जानुपर्छ। पैसा भए पार्लरमा राम्रो हुन स्वाभाविक हिसाबमा सकिन्छ।’

बीस वर्षअघि व्यापार सुरु गर्दा दिनको पाँच हजार आम्दानी हुन गाह्रो भए पनि निरन्तरको मेहनतले व्यापारमा फस्टाइरहेको उनको अनुभव छ। ‘क्लाइन्टमा अहिले चेन्जेज आएको छ। हामी फरक काम चैं राम्रो के हुन्छ, त्यसमा ध्यान दिन्छौँ। पहिलेपहिले आफ्नो इच्छाले, आफूले चाहेको सामान किन्न पाइदैँनथ्यो, अहिले आफ्नो इच्छाले सामान किन्न पाइन्छ’, उनले भनिन्।

मेकपअ स्टुडियोमा उनले अहिले चारजना युवतीलाई रोजगारी दिएकी छन्। रोजगारीको संख्या बढाउने उनको योजना छ। काम गर्ने शैली फरक भएका कारण कार्यरत युवतीहरू भविष्यमा आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ। ‘दुई घन्टामा बीस हजार कमाउने टेक्नोलोजी भित्र्याएका छौँ। जसका कारण इन्कम सोर्स बढेको छ,’ निरन्तरताले व्यापारमा प्रोत्साहित गरेकै हो त भन्ने जिज्ञासामा उनले भनिन्, ‘बजारमा अहिले पनि कतिपय मान्छेहरू पार्लर खोल्ने फेरि बन्द गरिहाल्ने अवस्थामा छन्। जुनसुकै व्यापारमा पनि निरन्तरता हुनुपर्छ, यो त झन् मान्छे सिँगार्ने गर्ने काम हो। आफूमा पनि सुधार गर्नुपर्छ।’

मान्छेसँग अहिले पैसा नभएका कारण पनि एउटा कुराको सेवा दिँदा अर्कोमा छुट दिनुपर्ने वा निःशुल्कै पनि काम गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। ‘प्रविधिसँग अपडेट पनि हुनुपर्छ, मान्छेलाई सफा, सुन्दर र राम्रो अनुहारसँगै स्वास्थ्यसँग पनि जोड्नुपर्छ,’ उनी भन्छिन्, ‘मान्छे मेकअप गरेर मात्रै राम्रो हुने होइन, खानपानले पनि धेरै प्रभाव पार्छ।’

उनी आफ्नो व्यापारसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छिन्। विभिन्न संघसंस्थासँग आबद्ध छिन्। उनी भन्छिन्, ‘केही माग्न आउने मान्छेलाई हात खाली फर्काउँदिनँ। सहयोग र सेवा गर्न मन लाग्छ। पाँच सय सहयोग गर्दा भगवानले पाँच हजार दिनुहुन्छ भन्ने बुझेकी छु,’ मनिता भन्छिन्, ‘विशेषगरी बालबालिका र असहायको क्षेत्रमा काम गर्न मन लाग्छ।’

निरन्तरको मेहनतका कारण मनिता अहिले समाजमा अन्य महिला तथा युवतीका लागि पनि प्रेरणाको स्रोत बनेकी हुन्। व्यापारमै नयाँ शैलीका साथ काम गर्न चाहने र यही क्षेत्रमा स्थापित हुन खोज्नेका लागि उनी उदाहरणीय पात्र हुन्।

शृंगार बजार उछाल्ने साउन

कर्णालीमा फैलिँदै सौन्दर्य कला

प्रकाशित: २४ साउन २०८० १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =