शृंगारको बजार

शृंगार बजार उछाल्ने साउन

मस्त केसी २१ साउन २०८० १२:१७
28
SHARES
शृंगार बजार उछाल्ने साउन तस्बिर : दिपेश श्रेष्ठ

संस्कृतिसँगै फेसनको बढ्दो प्रयोगले साउन महिना खुद्रा बजारलाई चलायमान बनाउने ‘क्याटलिस्ट’ बनेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड २२ लाख रुपैयाँको चुरा र २२ करोड ४३ लाखको पोते भित्रिएको छ। यसै अवधिमा ३६ करोड ४४ लाखको लिपस्टिक र ५८ लाख ६८ हजारको नङ पालिस आयात भयो।

गत आवभर शृंगारका अन्य सामग्रीको आयात ३ अर्ब १३ करोड ४९ लाख रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ। यही अवधिमा ७० लाखको पोते, २० करोडको चुरा, टीका र अन्य करिब १३ लाख रुपैयाँको शृंगारका सामग्री नेपालबाट निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार गत जेठसम्म ३१ करोड ६ लाख रुपैयाँको चुरा भित्रिएको थियो। असारमा ६ करोड रुपैयाँको चुरा आएको छ। विभागले अन्यको तथ्यांकभित्र राखेका शृंगारका सामग्रीको आयात जेठ मसान्तसम्म २ अर्ब ७३ करोड ७४ लाख थियो। असारमा मात्रै ४० करोड बराबरका सामग्री आएको देखिन्छ। जुन आयात साउन लक्षित हो।

व्यवसायीहरूले साउन लक्षित गरेर शृंगारका मात्रै होइन, लत्ताकपडा पनि उत्तिकै मात्रामा भित्र्याउँछन्। सारी, कुर्थालगायत जेठसम्म ४ अर्ब ५४ करोड रुपैयाँको आएको थियो। असारमा थप २९ करोड रुपैयाँको सारी र कुर्थाको पिस भित्रिएको छ। यसमा कच्चा कपडा ल्याएर नेपालमै सारी वा कुर्था बनाउनेको संख्या उल्लेख्य छ।

साउन लक्षित गरेर शृंगारका सामग्री र सारी, कुर्था ल्याउनुको एउटै कारण हो- अधिकांश नेपाली महिलाका लागि साउन ‘विशेष महिना’ बन्दै गएको छ। असार अन्त्यतिरदेखि नै साउनका लागि किनमेल सुरु हुन्छ। जसमा सबैभन्दा बढी पर्छन्- शृंगारका सामग्री र हरियो, पहेँलो सारी, कुर्था।

शृंगारका सामग्रीमा पनि हरियो चुरा, हरियो, मेहन्दी साउनका लागि अनिवार्य मानिन थालेका छन्। यसमा झन् नजिकका साथीसंगी वा आफन्त सबैले एउटै रङका कपडा लगाउने ‘फेसन’ उत्तिकै चलेको छ। जसले गर्दा यस्ता सामग्री बिक्री गर्नेको व्यवसाय गर्माएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कमोडिटीतर्फका उपाध्यक्ष हेमराज ढकाल साउन खुद्रा बजारलाई चलायमान बनाउने महिनाका रूपमा विकास हुन थालेको बताउँछन्। ‘केही वर्षअघिसम्म बर्खामा व्यापार हुँदैन भन्ने मान्यता थियो,’ उनी भन्छन्, ‘अहिले साउनलाई लक्षित गरेर व्यवसायीहरूले थप सामग्री आयात गर्नुपर्ने अवस्था आएको छ।’

व्रत बस्ने, हरियो लगाउने संस्कृतिसँगै पछिल्ला वर्षमा भित्रिएको फेसनले साउन सारी, कुर्था, चुरापोतेलगायत शृंगारका सामग्री किनमेल हुने ठूलो ‘चाड’ बनेको छ। व्यवसायीहरू यसअघि तीजमा बढी हुने महिला विशेषको किनमेल अहिले साउनमा समेत उत्तिकै हुन थालेको बताउँछन्।

सौन्दर्यकला व्यवसायी संघकी उपाध्यक्ष शर्मिला खत्री पनि साउने किनमेल पनि तीजको हाराहारीमै हुने गरेको बताउँछिन्। ‘केही वर्षअघिसम्म साउन यति ‘फेसनेबल’ भइसकेको थिएन,’ उनी भन्छिन्, ‘करिब ८/१० वर्षयता साउनको व्यवसायले तीजलाई ओझेल पार्न खोज्दैछ’, खत्री भन्छिन्, ‘मेहन्दीको व्यापार त अरू ११ महिनाभन्दा साउनमा मात्रै दोब्बर हुन्छ।’ तीजमा गरगहना र सारीको व्यापार बढी हुने र तुलनात्मक रूपमा महँगो किनमेल हुने उनको अनुभव छ।

हरेक वर्ष अर्बौँको सामान आयात भए पनि नेपाली बजारमा यस्ता सामग्रीको यकिन मूल्य छैन। सौन्दर्यसम्बन्धी सेवा दिने पार्लर हुन् वा अन्य सामग्री बेच्ने पसल गुणस्तरको नाममा लिने मनलाग्दी मूल्य छँदैछ। पार्लरहरूले शृंगारका नाममा केही सयदेखि हजारौँसम्म लिन्छन्।

सामग्रीको बढ्दो खपतले मुलुकमा व्यापारिक गतिविधि बढाएको छ। सहरमात्रै होइन, साना बजार र गाउँगाउँमा समेत सौन्दर्य सामग्रीका पसल र पार्लरको संख्या थपिँदो छ। ससाना लगानीदेखि लाखौँ खर्चेर बनेका पार्लर छ्यापछ्याप्ती छन्। यसले स्वाभाविक रूपमा रोजगारी र आर्थिक उपार्जनको बाटोबाट मुलुकलाई योगदान दिइरहेकै छ।

प्रकाशित: २१ साउन २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =