हिजोसम्म सभामुख, आज मन्त्री!

विवेक विवश रेग्मी १७ साउन २०८० २०:४२
66
SHARES
हिजोसम्म सभामुख, आज मन्त्री!

इटहरी- कोशी प्रदेशमा पछिल्लोपटक असार २१ मा सरकार गठन भयो। उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसदको साथ थियो। तर बहुमत पुर्‍याउनुपर्ने भएकाले सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित ४७ सदस्य पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेस गरियो। त्यसैलाई आधार बनाउँदै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरे।

तर सर्वोच्च अदालतले भने मुख्यमन्त्रीको नियुक्ति बदर गरिदियो। नेकपा एमालेले असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा साउन ११ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो।

साउन १२ गते प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए। सोहीअनुसार मंगलबार साँझ कोशी प्रदेशमा पुनः उद्धव थापा नै मुख्यमन्त्री बनेका छन्।

यसपटक प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दबाबमा सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन्। थापाले मंगलबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै आफूसँग बोल्ने कुनै कुरा नरहेको बताएका थिए। तर बुधबार भने उनै गौतम प्रदेशको मन्त्री बनेका छन्।

सभामुखबाट राजीनामा दिएको एकैदिनमा उनी माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका हुन्। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुँदै गौतम प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। मन्त्री भइसकेपछि गौतमले हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट पुनरावलोकन गर्ने बताए।

प्रदेशमा मुख्यमन्त्रीपछिको वरीयतामा आउने मन्त्रालयको जिम्मेवारी पाएपछि उनी सन्तुष्ट बनेको स्रोतले बताएको छ। उनै गौतमका कारण शपथग्रहणको समयसमेत सारिएको थियो। बिहान साढे १० बजे शपथग्रहणको कार्यक्रम तय भए पनि प्रदेशमा माओवादीले कसलाई मन्त्री पठाउने भन्नेबारे विवाद नटुंगिएपछि शपथग्रहणको समय साँझ ५ बजे राखिएको थियो। माओवादीले बुधबार दिउँसो मात्रै गौतमलाई मन्त्री पठाउने निर्णय गरेपछि शपथग्रहण भएको थियो।

यसैबीच सभामुखबाट राजीनामा दिएसँगै मन्त्री हुनुले राजनीतिमा नैतिकता नभएको देखिने कतिपयको टिप्पणी छ । ‘नैतिकता हुने मानिस राजनीतिमै आउँदैनन् कि भन्ने प्रश्नचिह्न पनि खडा भएको छ,’ एक अधिवक्ताले हिमालप्रेससँग भने, ‘हुन त यसअघि प्रधानमन्त्री भइसकेका मान्छे राजदूत बनेको र सभामुख भइसकेका मान्छे मन्त्री भएका उदाहरण पनि छन्, त्यसैको सिको हो कि ?’ उनले अहिले हरेक मानिसलाई पद, प्रतिष्ठा र शक्तिको लोभ रहेका कारण पनि गौतमले सभामुखबाट राजीनामा दिएर मन्त्री भएको उनको टिप्पणी छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन छ। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।

यसैबीच प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले आफू यसबीचमा कामचलाउ मुख्यमन्त्री रहेको दाबी गर्दै नयाँ मुख्यमन्त्रीको छेउमा सिट खोजेका थिए। तर पूर्व मुख्यमन्त्रीको मात्रै सिट राखिएपछि उनले शपथग्रहण बहिस्कार गरेका थिए।

‘हिजोसम्म म नै मुख्यमन्त्री थिएँ, आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ,’ कार्कीले भने, ‘तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ।’

प्रकाशित: १७ साउन २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =