बुटवलमा वृक्षरोपण अभियान सुरु

हिमाल प्रेस १५ साउन २०८० १९:४१
6
SHARES
बुटवलमा वृक्षरोपण अभियान सुरु

लुम्बिनी- बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु गरिएको छ। सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे।

अभियानअन्तर्गत मुख्य सडकका डिभाइडरहरूमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उनले बताए। उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्न चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए।

‘यो वर्ष हामीले बुटवललाई हरियाली, सफा र सुन्दर बुटवल बनाउने काम थालेका छौं’, उनले भने, ‘साथै उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य सडक, भित्री सडक र सार्वजनिक स्थलहरूमा उच्च क्षमताका बत्ती जडान गर्नेछौं।’

बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर सहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्ने गरी योजना अगाडि बढाएको उनले बताए। सोमबार सुरु गरिएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरू सरसफाइका लागि प्रत्येक महिना नियमित रूपमा सञ्चालन हुने बताइएकाे छ।

उपमहानगरले हरियाली र उज्यालो सहर बनाउन चालु आर्थिक वर्ष २०८०/८१ का लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ।

यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ। नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउन विभिन्न प्रजातिका फूल र बिरुवा रोप्ने याेजना छ।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३-३ सय बिरुवा रोपिनेछ। त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रूपमा सञ्चालन हुने उनको भनाइ छ। साउन १५ गते योगीकुटीबाट सुरु भएको अभियानअन्तर्गत पहिलो दिन योगीकुटीदेखि होराइजन चोकसम्म, १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

प्रकाशित: १५ साउन २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =