बुटवल आसपासमा मोटरसाइकल चोर्ने गिरोहसहित १२ जना पक्राउ

हिमाल प्रेस २५ असार २०८० १८:२४
10
SHARES
बुटवल आसपासमा मोटरसाइकल चोर्ने गिरोहसहित १२ जना पक्राउ

लुम्बिनी– रूपन्देहीमा मोटरसाइकल चोर्ने गिरोहसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवललगायतका आसपासका क्षेत्रमा प्रहरीले विशेष अप्रेसन सञ्चालन गरेर चोरको गिरोहलाई पक्रिएको हो। संगठित चोरी गर्ने ६ जनाको समूहसहित १२ जना मोटरसाइकल चोर्ने गिरोह र १४ थान मोटरसाइकल नियन्त्रणमा लिएको आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले चोरीकार्यमा संलग्न १२ जनालाई सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाइकल चोरीका घटना भएपछि विशेष टोली परिचालन गरेर अप्रेशन संचालन गरिएको बताए।

६ जना एउटै गिरोहमा रहेर संगठित चोरी गर्ने समूह रहेको र अन्य बाँकी २-३ जनाको समूहमा चोरी गर्ने, बेचबिखन गर्ने गरेको खुलेको डीएसपी थापाले बताए। एक महिना अघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको उनको भनाइ छ।

पक्राउ परेकाहरूले मोटरसाइकलको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गर्ने गरेको उनले दाबी गरे। चोरीका सवारी साधनहरू गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौँसम्म पुर्‍याइएको प्रहरीले जनाएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूको सहयोगमा सफलता हात लागेको डीएसपी थापाले बताए।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नं. ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिलकुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं. ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री, तिलोत्तमा नगरपालिका वडा नं. ४ का १८ वर्षीय आकाश नेपालीलाई सार्वजनिक गरेको हो।

बरामद भएका मोटरसाइकलहरू रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरूमा फेला परेको डीएसपी थापाले बताए। बरामद भएको १४ मोटरसाइकलमध्ये ७ वटाको सवारी धनी बेला परेको र ७ थान मोटरसाइकलको सवारी धनी फेला नपरेको प्रहरीले जनाएको छ।

हालसम्म मोटरसाइकल धनी फेला नपरेका मोटरसाइकलहरूमा लु ५७ प ३३९३, लु २० प ६४०६, लु ८२ प ३९२९, लु २७ प ९३०७, लु ६८ प ७४९६, लु ५१ प ६३५२ र लु १६ प २५२५ नम्बरका रहेका छन्। चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्प्लेडर र यमाहाका मोटरसाइकल रहेका छन्।

पक्राउमा परेकाहरूलाई चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्यादथप लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =