लम्पी स्किन महामारीका बेला पशु ल्याब बजेटविहीन, आन्दोलनमा कर्मचारी

हिमाल प्रेस १५ साउन २०८० १७:५२
32
SHARES
लम्पी स्किन महामारीका बेला पशु ल्याब बजेटविहीन, आन्दोलनमा कर्मचारी

काठमाडौँ- मुलुकभर लम्पी स्किन रोग फैलिएर पशु महामारीको रूप लिएको छ। गत चैतयता करिब पाँच महिना अवधिमा ५० हजारभन्दा बढी पशुको मृत्यु भइसकेको पशु सेवा विभागको तथ्यांक छ।

यसै समयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (पशु ल्याब) बजेटविहीन बनेका छन्। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत पशु ल्याब बजेटविहीन बनेका हुन्।

खाद्यलगायत ल्याब एकीकृत गर्ने भन्दै सरकारले पशु ल्याबका लागि बजेट विनियोजन नगरेपछि अहिले काममा समस्या आएको ल्याबका कर्मचारीहरूले बताएका छन्। चालु आर्थिक वर्षमा बजेट नभएको भन्दै अधिकांश ल्याबका कर्मचारी आन्दोलित बनेका छन्। आन्दाेलित कर्मचारी अहिले छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगेका छन्।

कुनै पनि संरचना तयार नगरीकनै प्रयाेगशाला बजेटविहीन बनाउँदा आन्दाेलित हुनुपरेकाे केन्द्रीय पशु अन्वेषण प्रयाेगशाला प्रमुख शर्मिला चापागाइँले बताइन्। ‘हाम्रा २० वटा कार्यालय शून्य बजेटमा गए। ती कार्यालयहको संस्थागत संरचना नै अन्योलमा रहेका बेला प्रदेशमा हस्तान्तरण गरिने भनेको छ। तर ऐन नबनेको अवस्थामा संघको कर्मचारी त्यहाँ जाने अवस्था पनि छैन,’ उनले भनिन्, ‘संरचना तयार नगरी निर्णय गर्दाखेरी अहिले पशु स्वास्थ्य क्षेत्रको कुनै पनि रोग निदानका कार्यहरू हुन सकेका छैनन्। पशु स्वास्थ्यसँग सम्बन्धित सबै काम ठप्प भएका छन्।’

मुलुकभरका अधिकांश प्रयोगशालाले सूचना निकालेर बजेट अभावका कारण सामान्य परामर्शबाहेकका सेवा उपलब्ध गराउन नसकिने उल्लेख गरेका छन्।

कर्मचारीहरूले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना पनि दिएका छन्।


सरकारले चालु आर्थिक वर्षमा खाद्य प्रविधि, पशुपन्छी आहारा र पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा त गरेको छ। तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका लागि बजेट विनियोजन गरेको छैन। सोही कारण अहिले महामारीमा पनि काम गर्न समस्या भएको कर्मचारीले बताएका छन्।

राज्यले पशु चिकित्सकमाथि भेदभाव गरेको छ : डा. मनोजकुमार शाही


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =