चार दिनदेखि फोहोर नउठ्दा पोखरा बजार दुर्गन्धित

हिमाल प्रेस १३ साउन २०८० २०:२१
14
SHARES
चार दिनदेखि फोहोर नउठ्दा पोखरा बजार दुर्गन्धित

कास्की- पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ। पोखरा महानगरपालिकाले अस्थायी ल्यान्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि गत बुधबारदेखि पोखरा बजारको फोहर उठ्न नसकेको हो।

पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोकलगायत क्षेत्रको सडकमै फोहर थुप्रिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको ल्यान्डफिल साइटमा फोहर लैजान रोकिएको छ। त्यसपछि महानगरले अस्थायी रूपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो।

स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन्।

महानगरले ६ महिनाभित्र फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन्। स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको छ।

पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको थियो। वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रूपमा फोहर लैजान छलफल भइरहेको बताए।

ल्यान्डफिल साइटको सही ढंगले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताए। ‘राम्रोसँग फोहर व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्छ भन्ने मुख्य माग स्थानीयको छ,’ उनले भने, ‘हामीले त्यसका लागि प्रतिबद्धता जनाएका छौँ। महानगर प्रमुखले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ। आइतबारसम्म सहमति हुन्छ होला।’

महानगर प्रमुख धनराज आचार्यले ल्यान्डफिल साइट क्षेत्रका स्थानीयसँग छलफल भइरहेको बताए। बजार क्षेत्रमा सडकमा ल्याएर फोहर नफाल्न पोखरावासीमा उनले आग्रह गरेका छन्। ‘ल्यान्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहर उठाउन सकिएको छैन। हामी सम्वादमा छौँ, डेंगु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ,’ उनले भने, ‘फोहर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु।’

पोखरा महानगरले यसअघि गत पुसमा ६ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहर व्यवस्थापन सुरु गरेको हो। महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ।

प्रकाशित: १३ साउन २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =