२५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी पूरा

हिमाल प्रेस ८ जेठ २०८१ १७:२०
12
SHARES
२५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी पूरा २५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिर : हिमाल प्रेस

लुम्बिनी– लुम्बिनी विकास कोषले २५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी पूरा भएको छ। कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन दिन लगातार कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको हो। जसअनुसार बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए। उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीलाई सहयोग गर्न आग्रहसमेत गरे।

उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए। मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम गरिने बताए।

९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ। मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरुको सहभागितामा प्रार्थनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ।

लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्थिधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्राम सम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहले सहकार्य गरेको जनाइएको छ।

कोषले भगवान् बुुद्धको महत्त्व दर्शाउन देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न अपिल गरेको छ।

प्रकाशित: ८ जेठ २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =