पर्यटकलाई लक्षित गरी लुम्बिनीमा स्मार्ट शौचालय निर्माण

हिमाल प्रेस १२ साउन २०८० १७:५५
32
SHARES
पर्यटकलाई लक्षित गरी लुम्बिनीमा स्मार्ट शौचालय निर्माण

लुम्बिनी– नेपाल वित्तीय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ। लुम्बिनी विकास कोषसँगको सहकार्यमा चार नम्बर गेटमा पर्यटकलाई लक्षित गरी लैंगिकमैत्री शौचालय निर्माण गरिएको हो।

कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल युनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरी करिब ४० लाख रुपैयाँ लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ। संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी निर्माण गरीएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुसी लागेको बताए। लुम्बिनी आउने पर्यटकहरूलाई शौचालयले थप सहजता दिने उनले बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरूको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरूलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए। कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशील बनाउने गरी नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाइलाई अन्तर्राष्ट्रिय  स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले शौचालय निर्माण भए पनि यसको दीगो सञ्चालनमा चुनौती रहेको बताउँदै त्यस कार्यमा कोष लागि पर्ने बताए।कार्यक्रममा कोषका योजना प्रमुख सरोज भट्टराई, प्यासिफिक क्षेत्रिय संगठन (यूएनआई एप्रो) का क्षेत्रिय सचिव राजेन्द्र आचार्य, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदम रेग्मी, शंकर लामिछानेलगायतले बोल्दै पवित्र स्थल लुम्बिनीमा पर्यटकलाई सेवा दिने उदेश्यले शौचालय निर्माण आफैँमा सामाजिक उत्तरदायित्वको हिसाबले महत्वपूर्ण रहेको बताए। १५० वर्गकिमि क्षेत्रफलमा निर्माण गरिएको शौचालय आधुनिक छ।

लैंगिक र अपाङमैत्रीसँगै महिलाहरूलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरीएको नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए। उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरूले लाभ लिनेछन्।

प्रकाशित: १२ साउन २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =