गगन थापाले भने, मैले लाइभमै भनेको छु- नेतृत्व परिवर्तनका लागि सक्रिय छु

हिमाल प्रेस ८ साउन २०८० १७:५३
24
SHARES
गगन थापाले भने, मैले लाइभमै भनेको छु- नेतृत्व परिवर्तनका लागि सक्रिय छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी फुटाउन नभई नेतृत्व परिवर्तनका लागि सक्रिय रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको आइतबार जबाफ दिँदै उनले आफू निरन्तर नेतृत्व परिवर्तनमा लागिरहने पनि स्पष्ट पारे।

उनले भने, ‘साथीहरू किन आत्तिनुभएको होला, के मैले पार्टी फुटाउने कुरा गरेको हो र? अब मलाई कसैले मलाई प्रश्न नगर्नुहोला, मैले लाइभमै भनेको छु- म नेतृत्व परिवर्तनका लागि सक्रिय छु।’

राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन गर्न असहज भएकाले पनि आफू परिवर्तनका लागि लडिरहने उनको भनाइ छ। उनले भने, ‘३०-३५ वर्षदेखि चार जना पाँच जनाकै हातमा दल र सत्ता हुनु हुँदैन। बाहिरने व्यवस्था हुनुपर्छ। बाहिर हेर्नुभयो भने यो व्यवस्था हुन्छ।’

उनले सभापति शेरबहादुर देउवासँग व्यक्तिगत रूपमा कुनै असन्तुष्टि नरहेको पनि बताए। महामन्त्री थापाले भने, ‘यो व्यक्तिगत कुरा होइन। सभापतिजीसँग म एक्लै भेट्दा कसरी कुरा गर्छु थाहै छ। तर पार्टीको कुरामा त्यस्तो हुँदैन।’ उनले संसदीय दलको नेता परिवर्तन गर्न खोज्दा असफल भएको बताए। उनले भने, ‘अब फेरि प्रयास गर्न मिल्दैन त? मिल्छ। मेरो प्रयास पहलकदमी रहिरहन्छ।’

यस्तै महामन्त्री थापाले सभापति देउवाबाट छिट्टै नेतृत्व हस्तान्तरण हुने आशा पनि व्यक्त गरे। उनले भने, ‘सभापतिज्यूले एकदुई महिनापछि ‘ल यार म पाँचपाँच पटक भइसकेँ, कोही तयार छ भने आओ’ भन्नुहुन्छ कि, भन्नु भए म खुसी नै हुन्छु।’  महामन्त्री थापाले पार्टी बहुमत र अल्पमतले मात्रै नभई छलफलबाट पार्टी चल्ने बताए।

थापाले महामन्त्रीहरू कार्यालयमा आइदेओस् भन्ने नेताकार्यकर्तामा रहे पनि कार्यालयमा आएर के गर्ने भन्ने अन्योल रहेको बताए। उनले भने, ‘यो बैठकपछि त्यस्तो नहुने विश्वास छ।’  उनले कुन तहले के गर्ने भन्ने क्यालेन्डर बनाइने पनि बताए। यस्तै महामन्त्री थापाले बैठक बोलाउने कुरा समय तोक्न आग्रह गरे।

उनले भने, ‘दुई भने दुई भनौँ चार भने चार भनौँ। सभापतिजी विधान संशोधन गर्ने भए गरौँ तर अहिले नै अर्को बैठकको मिति तोकौँ।’ उनले २०८२ सालमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताए। त्यसपछि पार्टी चलायनमान भई २०८४ सालको चुनावमा राम्रो परिणाम आउने उनको विश्वास छ।

उनले अब सही मान्छे सही ठाउँमा ल्याउनुपर्ने र अध्ययन अनुसन्धानका लागि पार्टीमा स्कुल चलाइने बताए। महामन्त्री थापाले अनलाइन सदस्यता साधारण सदस्यका लागि भएको स्पष्ट पार्दै क्रियाशील सदस्यका लागि छलफल बाँकी रहेको बताए।

प्रकाशित: ८ साउन २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =