नेपाली कांग्रेस महासमिति बैठक

देउवा र थापाले अडान नछाड्दा अन्योलमा कांग्रेसको सांगठनिक प्रस्ताव

सन्तोष अधिकारी ७ फागुन २०८० १८:२०
194
SHARES
देउवा र थापाले अडान नछाड्दा अन्योलमा कांग्रेसको सांगठनिक प्रस्ताव

काठमाडौँ- पार्टीको दस्ताबेजमा चुनावका बेला अन्य दलसँग गठबन्धनका विषय राख्ने या नराख्ने भन्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच मतभेद देखिएको छ।

सभापति देउवा चुनावको विषय अहिले उल्लेख गर्न नहुने पक्षमा छन् भने महामन्त्री थापाचाहिँ पार्टीको सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्नै हुँदैन भनेर उल्लेख गर्नैपर्ने अडानमा छ। यस्तो नगर्ने हो भने केही वर्षमा पार्टी निकै कमजोर हुने थापाको विश्लेषण छ।

महामन्त्री थापाले महासमिति बैठकमा पेस गर्न लागेको सांगठनिक प्रस्तावमा चुनावमा गठबन्धन गर्न नहुने विषय समेटिएको उनी निकट एक नेताले जानकारी दिए। सभापति देउवाचाहिँ चुनाव रणनीतिक विषय भएकाले त्यति बेलै निर्णय लिनुपर्ने पक्षमा छन्।

महामन्त्री थापा आफ्नो सांगठनिक दस्ताबेजको मूल कुरा नै चुनाव रहेकाले त्यसलाई नसच्याउने अडानमा रहेको एक पदाधिकारीले जानकारी दिए। यही विषयमा सहमति नजुट्दा महामन्त्री थापाले पेस गर्ने प्रस्ताव महासमिति बैठकमा कसरी प्रस्तुत गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।

थापालाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘सभापतिज्यूका कुरा अहिले चुनावका बारेमा नबोलौँ भन्ने छ। उहाँ जे गर्नुपर्छ चुनावकै बेलामा गरौँला भन्नुहुन्छ। मेरो दस्ताबेजको सार नै त्यही हो, कसरी पछाडि हटौँ भन्ने हो।’

महामन्त्री थापासँग विवाद रहेको संकेत सभापति देउवाले सोमबार महासमिति बैठक उद्घाटन समारोहमा पनि व्यक्त गरेका छन्। सभापति देउवाले उद्घाटन समारोहमा भने, ‘निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुन्छ। अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प छैन।’

देउवा र देउवा निकट नेताले प्रतिवेदन नै नपढेको निष्कर्ष महामन्त्री थापा पक्षको छ। ‘पूरै डकुमेन्टको सार चुनाव भएकाले कसरी प्रतिवेदन परिवर्तन गर्न सकिन्छ र?,’ थापापक्षीय अर्का एक नेताले भने।

महामन्त्री थापाले आठ लाख क्रियाशील सदस्यले मात्रै पार्टी बलियो नहुने बताउने गरेका छन्। कांग्रेसलाई नचिन्ने लाखौँ समर्थकलाई चिढ्याउन नहुने उनको अडान छ। त्यस्ता समर्थकलाई अन्य दलको चुनाव चिह्नमा भोट हाल्न लगाउँदा पार्टी कमजोर भएको थापाले सार्वजनिक रूपमै व्यक्त गर्दै आएका छन्।

‘लाखौँको संख्यामा रहका मतदातालाई हामी चिन्दैनौँ, जसले हामीलाई नचिनीकन भोट हाल्छन्। २०४८ को चुनाव नचिनीकन भोट हालेका हुनाले हामी सबैभन्दा ठूलो दल बनेका हौँ। अहिले उनीहरू हामीसँग रिसाएका छन्। किनभने उनीहरूलाई हामीले अर्को चिह्नमा भोट हाल्न लगाएका छौँ,’ थापालाई उद्धृत गर्दै ती पदाधिकारीले भने।

थापाको बुझाइमा प्रजातान्त्रिक विचारप्रति आस्था राख्नेका लागि चुनावमा मत हाल्नु भनेको धर्म मानेको जस्तै हो। ‘हामीले त्यसलाई खलबल्याइदिएका छौँ। त्यसैले यसलाई सच्याउनुपर्छ भन्ने मेरो धारणा छ। अहिलेसम्म जेजे भयो अब उप्रान्त त्यस्तो हुँदैन भन्ने हो भने पार्टी फेरि जाग्छ भन्ने मेरो तर्क छ,’ थापालाई उद्धृत गर्दै ती पदाधिकारीले भने।

ती नेताका अनुसार महामन्त्री थापाले प्रतिवेदनमा रहेका धेरै विषयमा सहमति भइसकेको बताएका छन्। थापालाई उद्धृत गर्दै ती नेताले भने, ‘प्रस्तावमा फ्लोरबाट आएका केही सही सुझावहरूलाई समेटेको छु। केही कुरामा म आफैँले आश्वस्त तुल्याएको छु। एउटा कुरामा भने विवाद छ, त्यो हो चुनाव।’

महामन्त्री थापाले पहिला यस्ता कुरा सुधार्ने हो भने पार्टी सबल बन्दै जाने बताउने गरेका छन्। यद्यपि चुनावका बेलामा सुधारौँला भन्ने सभापतिको तर्कले चार वर्षमा पार्टी सकिने थापाको भनाइ छ।

महामन्त्री थापाले पछिल्ला केही महिना देशका विभिन्न ठाउँमा पुगेर पनि पछिल्लो वस्तुस्थितिको अध्ययन गरेका थिए। उनको बुझाइमा नेपाली कांग्रेस अरू पार्टी जस्तो संगठनमा बाँधिएको पार्टी होइन। उनले आफ्नो सांगठनिक प्रस्तावमा पनि यिनै विषय समेटेका छन्।

के होला प्रस्ताव?

महामन्त्री थापा निकट स्रोतका अनुसार पार्टीको दस्ताबेज अप्ठ्यारो अवस्थामा आएर अड्किएको छ। उनले भन्ने गरेका छन्, ‘मैले प्रस्तुत गर्ने कुरामा मेरै कुरा छैन भने कसरी प्रस्तुत गर्ने?’ उनी आफ्नो मर्म मार्न नहुने अडानमा छन्।

पार्टीको दस्ताबेजमा सभापतिको कुरा पनि भएन भने त्यसलाई कसरी आधिकारिक मान्ने भन्ने अन्योल छ। थापा भने आफ्नो प्रस्ताव मार्न नहुने पक्षमा छन्।

पार्टीमा दुई लाइन रहेको र एउटा लाइनको नेतृत्व आफूले गरेकाले त्यसलाई सभापतिले स्वीकार गर्न कठिन रहेको बुझाइ थापाको छ। यसलाई समाधान गर्न विभिन्न विकल्पमा छलफल हुने नेताहरू बताउँछन्।

देउवा–थापाको असमझदारीका कारण सांगठनिक प्रतिवेदनले मूर्त रूप लिन सकेको छैन। निरन्तर छलफल र संवादले पनि निष्कर्ष दिन नसक्दा प्रतिवेदन छपाइमा ढिलाइ भएको छ। सहमति निकाल्न भन्दै सोमबार साँझका लागि सभापति देउवाले पदाधीकारी र पूर्व पदाधिकारीहरू बैठक बूढानीलकण्ठमा बोलाएका छन्। सभापति देउवा चुनावको विषय एकदम रणनीतिक भएकाले अहिल्यै बोल्नु नहुने पक्षमा छन्।

‘सहमतिको विन्दु के हो भन्ने नै थाहा छैन। उहाँहरू बस्दाबस्दा थाकिसक्नुभएको छ। उद्घाटन पछि छलफल गरौँला भनेर उहाँहरू उठ्नुभएको हो,’ ती पदाधिकारीले भने, ‘सभापतिले पार्टीको आफ्नो लाइन हराएर दस्ताबेज कसरी दस्ताबेज प्रस्तुत हुन्छ र अनि महामन्त्रीको अर्को छुट्टै लाइन छ। त्यो लाइन हटाएर प्रस्ताव कसरी प्रस्तुत हुन्छ र? हेरौँ कसरी जान्छ।’

अनि बाई भनेर बाहिरिए देउवा

दस्ताबेजका विषयमा केही दिनदेखि लामो छलफल भए पनि नेताहरूबीच सहमति हुन सकेको छैन। प्रस्तावका विषयमा सभापति देउवा र महामन्त्री थापाबीच सोमबार बिहानसम्म छलफल भएको थियो।

कुनै निष्कर्ष निस्कन नसकेपछि दुवै नेता महासमिति बैठक उद्घाटन स्थलमा पुगेका थिए। पहिला उद्घाटन सकौँ अनि छलफलमा जुटौँला भनेर उनीहरू गोदावरी पुगेको एक नेताले बताए। महासमिति बैठक उद्घाटन समारोह सम्पन्न भएपछि देउवाले ‘बाई’ भनेर इसारा गरेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =