‘विप्लव कार्ड’ ले माओवादीमा तरंग

किरण पौडेल ६ साउन २०८० १०:२५
42
SHARES
‘विप्लव कार्ड’ ले माओवादीमा तरंग

काठमाडौँ- झट्ट सुन्दा नेकपा माओवादी केन्द्रमा गुटगत राजनीति भएको पत्तो पाइँदैन। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जे भन्यो, त्यही हुन्छ।’ त्यसैले पनि माओवादीभित्र गुटगत राजनीति छ भनेर विश्वास गर्ने कमै छन्।

प्रचण्डकै कारण माओवादीमा हालसम्म महाधिवेशन भएको छैन। ‘टिकेप्रथा’ प्रेरित सम्मेलनले माओवादी अहिलेको अवस्थामा आइपुगेको हो। शीर्ष तहमा तीन दशकदेखि प्रचण्ड छन्। उनीसँग विमति जनाएर कति बाहिरिए, त्यसको लामै सूची बन्न सक्छ। यस्तै माओवादीमा विलय हुने वामपन्थी दलको संख्या पनि धेरै छ।

त्यसैले त माओवादीमाथि गुटगत राजनीतिले टिक्दै आएको टिप्पणी हुने गरेको छ। जानकारहरूका अनुसार पार्टीमा कति गुट छन् अनुमान गर्न सजिलो छैन। माओवादीभित्रको गुटबन्दीको एक उदाहरण हो, विद्यार्थी संगठन अखिल क्रान्तिकारी। नेताहरूकै गुटबन्दीले क्रान्तिकारी दुई समूहमा सक्रिय छ। एउटा संस्थापन र अर्को समानान्तर कमिटी।

क्रान्तिकारीको महाधिवेशन (सम्मेलन) मा पन्चा सिंह संयोजक तोकिइन्। सिंह अध्यक्ष बन्न अयोग्य रहेको भन्दै पवन कार्की समूह असन्तुष्ट बन्यो। असन्तुष्टि चुलिँदै जाँदा कार्की समूहले अर्को कमिटी बनायो। कार्कीले देशभर समानान्तर गतिविधि फैलाएका छन्। सिंह पार्टी नेता जनार्दन शर्मा निकट मानिन्छन् भने कार्की अर्का नेता वर्षमान पुन निकट मानिन्छ।

विद्यार्थी राजनीतिमा मात्रै होइन पार्टीका हरेक निकायमा जनार्दन-वर्षमान गुट सक्रिय छ। सशस्त्र द्वन्द्वका बेला बाबुराम भट्टराई र मोहन वैद्यबीच विवाद बढाएर नेतृत्वलाई निरन्तरता दिँदै आएका प्रचण्डमाथि पछिल्लो समय भने जनार्दन र वर्षमानबीच खेलिरहेको आरोप लाग्ने गरेको छ।

२०५२ मा ‘जनयुद्ध’ सुरु हुँदा जनार्दन-वर्षमान अस्तित्वमा आइसकेका थिएनन्। अर्थात् जनार्दन र वर्षमान ‘जनयुद्ध’ बाटै उदाएका नेता हुन्। वर्षमान २०५५ मा र जनार्दन २०५६ मा माओवादीको केन्द्रीय सदस्य बने। समकालीन यी दुई नेता जनार्दन रुकुमबाट र वर्षमान रोल्पाबाट प्रतिनिधित्व गर्छन्। पछिल्लो समय एउटै पदमा बार्गेनिङ गर्ने क्रम बढ्दा उनीहरूबीच टकराव बढेको हो।

आठौँ महाधिवेशनमा महासचिव पदका लागि दुई नेता प्रतिस्पर्धी थिए। तर प्रचण्डले दुवै नेतालाई महासचिव नबनाई देव गुरुङलाई अघि सारे। गुरुङ वर्षमान र जनार्दनभन्दा सिनियर नेता हुन्। यसैले वर्षमान र जनार्दनबीचको विवाद बढ्न नदिन प्रचण्डले गुरुङलाई महासचिव बनाए।

गुरुङ कुनै बेला प्रचण्डको साथ छाडेका माओवादी नेता हुन्। मोहन वैद्य ‘किरण’ले माओवादी छाड्दा गुरुङ पनि सँगै बाहिरिए। संसद्बाहिर बस्नुको औचित्य नदेखेपछि गुरुङ माओवादीमा फर्किएका थिए।

पछिल्लो समय गुरुङले पार्टी एक ढिक्का बनाउन र संगठन विस्तारमा सक्रियता देखाउन नसकेको भन्दै अध्यक्ष प्रचण्ड खुसी छैनन्। माओवादी नेताहरूका अनुसार सोही कारण प्रचण्ड गुरुङलाई महासचिवबाट हटाउने पक्षमा छन्।

प्रचण्डले कसलाई बनाउलान् महासचिव?

गुरुङबाट पार्टी नचल्ने देखेपछि प्रचण्ड महासचिव परिवर्तन गर्ने तयारीमा रहेको एक नेताले बताए। सम्भवतः आउँदो साउन १७ बाट बोलाइएको माओवादी केन्द्रीय समिति बैठकमा यो विषय प्रवेश हुनेछ।

प्रचण्डले महासचिवमा नयाँ व्यक्ति चुन्छन् वा पुरानै दोहो¥याउँछन् हेर्न बाँकी छ। माओवादीभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई महासचिव बनाउने तयारी भइरहेको चर्चा पनि छ। संसदीय पद्धतिबारे कडा आलोचना गर्ने विप्लव महासचिवको लालचमा मोर्चामा जोडिएको माओवादी वृत्तमा चर्चा छ।

विप्लव तिनै नेता हुन्, जसले प्रचण्डबाट माओवादी आन्दोलन विसर्जन हुन सक्ने भन्दै विद्रोह गरे। लामो समय हिंसात्मक आन्दोलनमा होमिएर उनी दुई वर्षअघि मात्र खुला राजनीतिमा आएका हुन्।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामार्फत विप्लव माओवादी नेतृत्वसँग पार्टी प्रवेशका लागि तयारी गरिरहेको माओवादी वृत्तमा चर्चा छ। विप्लव आफैँ पनि माओवादी शक्तिहरू एक हुनैपर्ने बताउँदै आएका छन्।

माओवादी नेताहरू पछिल्लो समय विप्लव-प्रचण्डबीच सम्बन्ध सुध्रिएको बताउँछन्। माओवादी ध्रुव एक हुनुपर्ने विषयमा विप्लव-प्रचण्डबीच मत मिलेको उनीहरूको बुझाइ छ।

विप्लव नेकपाका नेताहरू भने हालसम्मका मूल्यमान्यता जोगाउन एकता प्रयासमा रहेको बताउँछन्। ‘अहिलेको राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा एक छौँ,’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हिमाल प्रेससँग भने, ‘राष्ट्रिय स्वाधीनता र हालसम्मका मूल्यमान्यता जोगाउन पनि एकता प्रक्रियामा गएका हौँ। यसैले समाजवादी मोर्चामा पनि गाँसियौँ।’

पछिल्लो समय प्रचण्डको महासचिव प्रस्तावले विप्लव झनै एकताका पक्षमा उभिएका छन्। कुनै बेला प्रचण्डले ‘स्पेस’ नदिँदा बाहिरिएका विप्लवलाई अहिले महासचिवको आस देखाइएको छ। प्रकाण्ड भने एकता प्रक्रिया भाँड्नका लागि महासचिव बनाउने हल्ला चलाइएको दाबी गर्छन्। उनी भन्छन्, ‘हामीबीचको एकता भाँड्न महासचिव पदको कुरा ल्याइयो।’

एक्लो यात्राले गन्तव्य निर्धारण नगर्ने बुझेपछि एकताको बाटो लिएको निकट नेताहरूको भनाइ छ। ‘हामीले लडेका ल्याएका अधिकारमाथि तुसारापास हुने सम्भावना छ। यसैले एक हुनुपर्ने आवाज उठेको हो’, विप्लव नेकपका केन्द्रीय सदस्य सुमन भन्छन्। विप्लव नेकपाले पूर्वमाओवादीका अन्य घटकसँग पनि छलफल गरिरहेको सुमन बताउँछन्।

माओवादी नेताहरूचाहिँ विप्लवले जिम्मेवारी सम्हाल्न सक्ने सम्भावना बलियो रहेको बताउँछन्। ‘विप्लवजी महासचिवको जिम्मेवारीमा रहने सम्भावना छ। उहाँले महासचिव चलाउन पनि सक्नुहुन्छ’, माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्।

महराको शक्तिमा आउने दाउ

विप्लवलाई देखाएर माओवादी उपाध्यक्ष महरा शक्तिमा पुग्न चाहेको माओवादीका एकथरी नेताहरूको आकलन छ। महरा कुनै बेला प्रचण्डका विश्वासिला पात्र थिए। पटकपटक संसदीय र संगठनात्मक अवसर पाउने महरासँग प्रचण्डको सम्बन्ध पछिल्लो समय त्यति राम्रो नरहेको माओवादी नेताहरू बताउँछन्।

सभामुख रहँदा महरा संसद् सचिवालयकै महिला दुव्र्यवहारको विषय बाहिरिएपछि प्रचण्ड बिच्किएका थिए। उक्त मुद्दामा सफाइ पाए पनि महराकोे राजनीतिक उचाइ अघि बढ्न सकेन। उनी प्रत्यक्ष निर्वाचन लड्न सकेनन् भने पार्टीभित्र पनि कार्यकारी भूमिकामा छैनन्।

महरा पछिल्लो समय पूर्वमाओवादीहरू एक बनाउन लागेका छन्। विप्लवलाई पार्टीमा भित्रिन महरा कपिलवस्तुसम्म पुगेका थिए। अहिले प्रचण्ड र विप्लवबीच एकता भए महरा ‘हिरो’ बन्नेछन्। महरा निकट नेताहरूका अनुसार उनी आफ्नो राजनीतिक भूमिका बढाउन विप्लवलाई अघि सार्दैछन्।

महरा माओवादीका अर्का नेता वर्षमान पुनका निकट पात्र हुन्। वर्षमानले महरालाई गुरु मान्ने गरेका छन्। यसैले पनि पुनको मन बुझाएर विप्लवलाई महासचिव बनाउने योजनामा महरा लागेको माओवादी स्रोतको दाबी छ। विप्लवलाई कार्यकारी बनाएर त्यसको गुटको नेतृत्व आफूले गर्न चाहेको महराको रहर छ। ‘पुन र विप्लवलाई मिलाएर नयाँ गुट बनाउने योजनामा महरा सर लागेको देखिन्छ,’ माओवादीका एक पदाधिकारी भन्छन्।

विप्लव भित्रिन नदिन नयाँ ध्रुवीकरण

विप्लव माओवादीमा जनार्दन र वर्षमानभन्दा जुनियर हुन्। विप्लवलाई महासचिव नबनाउन जनार्दन-वर्षमान सक्रिय रहेको माओवादीका एक नेता बताउँछन्। आठौँ महाधिवेशनमा दुवैले महासचिवले दाबी नछाड्दा अर्का व्यक्ति महासचिवमा आए। उनीहरू उपमहासचिवमै थन्किए। आन्तरिक द्वन्द्वले फेरि महासचिव उम्काउने पक्षमा वर्षमान-जनार्दन नरहेको माओवादी स्रोतको दाबी छ।

‘विप्लवजी माओवादी आन्दोलनलाई धोका दिएका पात्र हुन्। तर दुवै (वर्षमान-जनार्दन) प्रचण्डसँगै हुनुहुन्छ। यसले प्रचण्ड सहमत हुँदा पनि अन्यलाई मान्य नहुन सक्छ’, माओवादीका एक पदाधिकारीले भने।

वर्षमान, जनार्दन मात्र नभई पार्टी नेता शक्ति बस्नेत पनि अहिले एक भएको माओवादी नेताहरूको भनाइ छ। पार्टीमा छुट्टाछुट्टै गुटको नेतृत्वकर्ता विप्लवलाई महासचिव नबनाउने र महरालाई ‘पावरफुल’ नबनाउने पक्षमा अडिग छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका पछिल्ला कामले तरंगित बनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा ‘भीआईपी’ आरोपितलाई पक्राउ गरेर श्रेष्ठ चर्चामा छन्। तर पार्टीभित्रबाटै श्रेष्ठको यो कामको प्रचार नगरिएको गुनासो आइरहेको छ। यसबारे प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गुनासो गर्दै आएका छन्।

‘कार्यकर्ता पंक्तिमा श्रेष्ठको काम चर्चामा छ। नेतालाई नछोएको हो कि भन्ने अध्यक्षलाई परेको होला,’ पार्टी नेता गणेश साह भन्छन्, ‘उहाँ (श्रेष्ठ) को कामले सरकारकै चर्चा पाइरहेको छ। तर दोस्रो स्तरका नेताले चासो दिएनन्।’

प्रकाशित: ६ साउन २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =