लम्पी स्किन : याक र चौँरीमा पनि पुष्टि

हिमाल प्रेस ४ साउन २०८० १६:०७
12
SHARES
लम्पी स्किन : याक र चौँरीमा पनि पुष्टि

मनाङ- पशु सेवा विभागले गाई र भैँसी प्रजातिमा मात्रै लम्पी स्किन संक्रमण देखिएको भनिरहेका बेला मनाङमा याक र चौँरीमा पनि पुष्टि भएको छ। अन्य जिल्लाको तुलनामा मनाङमा ढिला संक्रमण पुगे पनि गाईभैँसी, याक र चौँरीमा समेत रोग पुष्टि भएको हो।

पुश चिकित्सा परिषदले रोग संक्रमण नदेखिएका जिल्लाबाट लम्पी स्किनको खोप अभियान चाल्नुपर्ने सुझाव सरकारलाई यसअघि नै दिएको थियो। तर पशु सेवा विभाग तथा कृषि तथा पशुन्छी विकास मन्त्रालयले खोप अभियानका लागि पहल नगर्दा संक्रमण तीव्र बनेको हो।

मनाङमा पहिलो पटक असार २४ गते पशुमा लम्पी स्किन संक्रमण देखिएको थियो। त्यसयता हालसम्म दुई सय ३६ गाई, गोरु र याक लम्पी स्किनबाट संक्रमित भएका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए।

उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पी स्किनबाट संक्रमित भएका छन्। ‘लम्पी स्किनको संक्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ,’ प्रमुख कुसुमले भने, ‘लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ।’

भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकाबाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा संक्रमण देखिएको उनले बताए।

चामे-२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि संक्रमणको जोखिम देखिएको छ।  ‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ। अहिले खोपको व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेस्टोबल इम्युनोबुस्टर)लगायत औषधि खरिद गर्न सक्नेछ।’

यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले बताए। साथै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउने उनको भनाइ छ।

रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको छ। पशुलाई टोक्ने लामखुट्टे र झिंगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराइएको छ।

बिरामी परेका पशुलाई स्याहार सुसार गर्न र संक्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ छ। रासस

लम्पी स्किन महामारी : तथ्यांक संकलनमा चुक्दै सरकार

प्रकाशित: ४ साउन २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =