बढ्दै डेंगु संक्रमण : तीन हजार संक्रमित

हिमाल प्रेस २ साउन २०८० २०:३१
4
SHARES
बढ्दै डेंगु संक्रमण : तीन हजार संक्रमित प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।

उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्।

महाशाखाका अनुसार असार २७ गते १ हजार ३ सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा संख्या बढेर २ हजार ९ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ।

यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा १ हजार ७ सय ४६, बागमती प्रदेशमा ४ सय ६८, सुदूरपश्चिम प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय ६९, लुम्बिनी प्रदेशमा १ सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेश प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।

१० जिल्लामा बढी संक्रमण नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङ दुई सय ५६, दार्चुला एक सय ८८, कास्की एक सय ४९, सङ्खुवासभा ५८, काठमाडौँमा ४६, कन्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेंगुका बिरामी भेटिएका छन्।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ। रासस

प्रकाशित: २ साउन २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =