कर्णालीका प्रत्येक घरमा टाँसिँदै प्रहरीको सम्पर्क नम्बर

हिमाल प्रेस ३१ असार २०८० १५:४८
20
SHARES
कर्णालीका प्रत्येक घरमा टाँसिँदै प्रहरीको सम्पर्क नम्बर

सुर्खेत- कर्णाली प्रदेशका प्रत्येक घरघरमा प्रहरीकाे सम्पर्क नम्बरमा राख्न सुरु गरिएको छ। सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतबारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरघरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान सुरु गरिएकाे हो। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानकाे शुभारम्भ गरे।

उपप्रधानमन्त्री खड्काले उक्त अभियानले प्रहरीलाई जनतासँग नजिक हुन थप सहयाेग पुग्ने बताए। आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने उनकाे भनाइ छ।

अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने पनि उनले बताए। यो अभियान प्रहरीको मात्र होइन भन्दै उपप्रधानमन्त्री खड्काले अभियानलाई सबै क्षेत्रले सहयोग गर्न आह्वान गरे। प्रहरी र जनताबीचको सम्बन्ध सुधार हुने अपेक्षा उनले व्यक्त गरे।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले प्रहरी सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताए। प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताले प्रहरीसँग पहुँच बढाउन, सुरक्षित प्रदेश बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बरको स्टिकर टाँस अभियान थालिएको उनले बताए। यस अभियानबाट विचौलिया न्यूनीकरण हुने उनकाे भनाइ छ।

उनका अनुसार कर्णाली प्रदेशका तीन लाख ७१ हजार बढी घरधुरीमा स्टिकर टाँस गरिनेछ। डीआईजी ढकालले स्टिकर टाँस अभियान तीन महिनासम्म चल्ने र त्यसमा तीन हजार बढी प्रहरी परिचालन गरिने जानकारी दिए।

स्टिकर टाँस गर्दा सर्वसाधारणलाई सचेतना दिइने र पारिवारिक तथ्यांक पनि लिइनेछ। कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्‍चालन गरिसकेको छ। जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्रहरी र नागरिक जोड्न यो अभियानले सहयोग पुग्ने बताए। उनले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने बताए। स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स, बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख छ।

प्रकाशित: ३१ असार २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =