नेपाल कुनै पनि देशको उपनिवेश होइन : विमलेन्द्र निधि

हिमाल प्रेस २७ असार २०८० ११:१२
8
SHARES
नेपाल कुनै पनि देशको उपनिवेश होइन : विमलेन्द्र निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्।

जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै उनले नेपाल इतिहासमा कहिल्यै कसैको उपनिवेशमा नपरेको तर्क गरे।

भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्रजस्ता नेताहरूले सहयोग गरेको स्मरण गर्दै उनले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको स्मरण गरे।

भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाइ छ।

आर्थिक नीतिका सन्दर्भमा पनि दुवै देश एकअर्कामा निर्भर भएको उनले बताए। छिमेकीका नाताले चीन र भारतसंग नेपालको पुरानो सम्बन्ध भएको उनले चर्चा गरे।

‘चीनसँग नेपालको मित्रता छ। भारतसँग नाता छ,’ उनले भने, ‘त्रेतायुगमा सीता र रामको विवाह भएको हो। नेपाल-भारतबीच रोटी-बेटीको सम्बन्ध छ।’

नेपाललाई भारतविरोधी देशका रूपमा नबुझ्न नेता निधिले भारतीय अधिकारीहरूसँग आग्रह गरे।

नेपालमा भारतविरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरूले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे।

त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गरे।

मंगलबार नै नेता निधि भुपाल नोवेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए।

सो अवसरमा विश्वविद्यालयका कूलपति शिबसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भविष्यमा सहयोग आदान प्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २७ असार २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =