एक हजार जनामा डेंगु संक्रमण, जोगिने तयारी के छ?

हिमाल प्रेस २४ असार २०८० १८:४५
8
SHARES
एक हजार जनामा डेंगु संक्रमण, जोगिने तयारी के छ? सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान चलाउने भएका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरूले उक्त अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।

महाशाखाले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभाग प्रमुखहरूसँग आइतबार डेंगु नियन्त्रणसम्बन्धी छलफल गर्दै चार महिनासम्म उक्त अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले चार महिनासम्म अभियान सञ्चालन गर्नुपर्ने जानकारी दिए। ‘अबको चार महिना डेंगु संक्रमण बढ्ने निकै नै जोखिम हुन्छ,’ उनले भने, ‘नियन्त्रणका लागि स्थानीय तहले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन्।’

स्थानीय तहले प्रत्येक हप्ता टोलटोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्ने उनको भनाइ छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गराइने बताए।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चाँडै सञ्चालन गरिने बताए। उनले पालिकाभित्रका गाउँ टोलमा पनि डेंगु नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने बताए।

पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेंगुेको जोखिमसमेत बढेको छ। महाशाखाका अनुसार काठमाडौँमा ४६ ललितपुरमा १२ भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन्। सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना डेंगुका बिरामी रहेका महाशाखाको तथ्यांक छ।

डेंगुका कारण सुनसरीमा एक जनाको ज्यान पनि गएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्छ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ।

डेंगु लागेपछि उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखिन्छन्।

लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

गत वर्ष सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेंगु देखिएको थियो। ८८ जनाको ज्यान गएको थियो। नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। रासस

प्रकाशित: २४ असार २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =