काठमाडौँ महानगरको दाबी : पूर्वतयारीका कारण डेंगु संक्रमितको संख्या न्यून

हिमाल प्रेस २९ साउन २०८० १९:३३
4
SHARES
काठमाडौँ महानगरको दाबी : पूर्वतयारीका कारण डेंगु संक्रमितको संख्या न्यून काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले समयमा नै डेंगु संक्रमण बढ्न नदिन पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष संक्रमितको संख्या न्यून रहेको जनाएको छ। गत वर्ष साउनको अन्तिम हुँदा दैनिक संक्रमितहरूको संख्या १०/१५ जना हुन्थे, यस वर्ष हालसम्म जम्मा २५/३० जनामा मात्रै संक्रमण पुष्टि भएको महानगरको दाबी छ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो सातादेखि नै डेंगु रोग नियन्त्रण र फैलन नदिन जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले विगतका वर्षमा भन्दा कम संक्रमित भएका हुन्।

समयमा नै पूर्वतयारीको कार्यक्रम मजबुत किसिमबाट गरिएको हुँदा त्यसबाट नियन्त्रणका लागि सहयोग पुगेको र संवेदनशील अवस्था नआएको प्रमुख पौडेलको भनाइ छ । कामपाले असारदेखि नै ३२ वटै वडा कार्यलयको नेतृत्वमा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

अहिले रोगको अवस्था सामान्य रहे पनि आवश्यक परे तयारी अवस्थामा रहेको भन्दै प्रमुख पौडेलले संक्रमण देखिए वडा प्रवर्द्धन केन्द्रमार्फत सहजरूपमा सिटामोल र जीवनजल उपलब्ध गराइएको बताए।

उनका अनुसार उक्त संक्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेंगुबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ।

त्यसै गरी सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ-आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिरहेका छन्।

बच्ने तरिका 

यो संक्रमणबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन।

कस्तो हुन्छ लक्षण

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्छ। संक्रमणपछि ज्वरो आउने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्दछ।

प्रकाशित: २९ साउन २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =