कांग्रेस-एमालेको सरकार हल्लामात्रै : मन्त्री साउद

हिमाल प्रेस १६ असार २०८० १२:५५
56
SHARES
कांग्रेस-एमालेको सरकार हल्लामात्रै : मन्त्री साउद

डडेल्धुरा– परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। कांग्रेस नेतासमेत रहेका साउदले नेकपा एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा साउदले भने, ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना छैन। यो हल्लामात्रै हो। ‘

यसैगरी उनले  सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताए। ‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ। हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडा पत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौं,’ मन्त्री साउदले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौं तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’

संसारमा भएका भूराजनीतिक र कूटनीतिक घटनाक्रमलाई नेपालले निष्पक्ष किसिमले हेरिरहेको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित टोलीको भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता, अखण्डता र आपसी हितका विषयमा कुराकानी भएको भन्दै उनले नेपालसँगको सीमा समस्या समाधानमा भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए।

‘भारतीय प्रधानमन्त्रीले कालापानीलगायत देशका विवादित सीमा समस्या वार्तामार्फत सामाधान गर्नुपर्छ भनेर बोल्नुभएको छ। त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ,’ उनले भने।

प्रतिपक्षका मागलाई सरकारले अधिकतम् सम्बोधन गर्ने प्रयास गरिरहेको उनले उल्लेख गरे। डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए।

प्रकाशित: १६ असार २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =