विपिन रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको आग्रह

हिमाल प्रेस २५ मंसिर २०८० १६:५४
8
SHARES
विपिन रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। कतारको राजधानी दोहामा उनीहरुबीच सोमबार शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत सम्बन्धका आधारमा यस जसरी मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताएको उनको सचिवालयले जनाएको छ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपीन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएको परराष्ट्र सम्बन्ध अधिकारीहरुले उल्लेख गरेका छन्। थानीले चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेतसमेत गरेको बताइएको छ।

साथै, प्रधानमन्त्री थानीले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा राखेको पनि बताएको र जवाफमा परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्रीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमासमेत कुराकानी गरेको उनको सचिवालयले बताएको छ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमासमेत सहभागी भएको स्वकीय सचिव जोशीले बताएका छन्।

प्रकाशित: २५ मंसिर २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =