काठमाडौँ- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको विशेष महाधिवेशन अवैधानिक रहेको बताएका छन्।
कांग्रेस संस्थापनइतरको जारी राष्ट्रिय भेलामा समसामयिक प्रतिवेदन पेस गर्दै नेता साउदले केन्द्रीय समितिले स्वामित्व नलिई बोलाइएको विशेष महाधिवेशन अवैधानिक रहेको बताएका हुन्।
उनले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता समेत नहुने जिकिर गरेका छन्।
‘निर्वाचन आयोगको निर्णय, त्यसपछि डिभिजन बेञ्चको फैसलाविरूद्ध पुनरावलोकन हुँदैछ। प्राकृतिक न्यायको सिद्धान्तअनुरूप सुनुवाइको मौका नदिइकन फैसला गरेको हुँदा ‘त्रुटिपूर्ण’ ठहर गर्दै ‘निस्सा’ प्राप्त भएको छ,’ प्रतिवेदनमा भनिएको छ,‘हामीलाई ‘निस्सा’ दिँदै गर्दा सुनुवाइको मौका नदिइएका ‘निर्णय प्रक्रिया’ले वैधानिकता प्राप्त गर्न नसक्ने उल्लेख भएको छ। हामीलाई आशा छ, अदालतबाट न्याय मिल्ने छ।’
कांग्रेसको यो विवादलाई जित हारको प्रश्नमा सीमित नगरी राजनीतिक विश्वास, संगठनात्मक एकता र सहकार्य पुनर्निर्माण गर्न राजनीतिक संवाद र सहमतिमा उनले जोड दिएका छन्।
कांग्रेसभित्र युवा पुस्तालाई नेतृत्वम ल्याउने बहस स्वाभाविक र आवश्यक भएको बताउँदै साउदले पुस्तान्तरणको अर्थ पुरानो ुपुस्ताको अनुभव र योगदान निषेध गर्नु नरहेको जिकिर गरेका छन्।


