हेटौँडा– बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ ।
सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो।
प्रदेशको सिन्धुलीको मरिण तथा हरिहरपुरगढी गाँउपालिका र मकवानपुरको बकैया तथा बागमती गाँउपालिकालाई खोरेतमुक्त क्षेत्र बनाउन लागिएको हो । आर्थिक वर्ष २०८२/०८३ बाट नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खोरेतमुक्त कार्यक्रम लागु गरेपछि संघकै निर्देशिकाबमोजिम बकैया, बागमती, हरिहरपुरगढी गाउँपालिकालाई जोन १ र सिन्धुलीको मरिण गाउँपालिकालाई जोन २ अन्तर्गत खोरेतमुक्त क्षेत्र निर्धारण गरेको हो ।
विश्व व्यापार संगठन तथा विश्व पशु स्वास्थ्य संगठनले तोकेको विधि तथा प्रक्रियालगायत प्रावधान पालना गर्दै खोरेत रोग उन्मूलन गरी स्वच्छ र गुणस्तरीय पशु तथा पशुजन्य सामग्री उत्पादन एवम् प्रमाणीकरणसहित निर्यात सुनिश्चित गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त कार्यक्रम सुरु गरिएको हो । सो क्षेत्र भौगोलिक तथा क्षेत्रीय हिसाबले र बजारीकरणका हिसााबले उपयुक्त रहेका कारण नमुनाको रुपमा कार्यक्रमका लागि छनोट गरिएको प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
जोनिङ तथा कम्पार्टमेन्टलाईजेसन सम्बन्धी निर्देशिका २०७८ अनुसार क्षेत्र घोषणा गरेपछि सीमा निर्धारण गर्ने, नियमित वार्षिक २ पटक खोरेतविरुद्ध खोप कार्यक्रमबाहेक खोप लगाएको पशु पहिचान तथा अभिलेखीकरण गर्ने, पशु र पशुजन्य उत्पादन सामग्रीहरूको स्थानीय सरकारसँगको समन्वयमा प्रदेश तथा संघीय सरकारले समिति निर्माण गरी निगरानी राख्ने कार्यहरू भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।
उनका अनुसार सो कार्यहरू गर्न प्राविधिक तथा प्रादेशिक समिति निर्माण भई प्रदेश सरकारले कार्यविधि बनाउने तयारी गरेको हो । गत आर्थिक वर्षमा सो स्थानीय सरकारलाई प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत भ्याक्सिनको सुरक्षित भण्डारणका लागि फ्रिज तथा तथ्यांक संकलनका लागि ल्यापटपसमेत प्रदान गरेको उनले बताए ।
खोरेत रोग खुर फट्टा पशुहरू जस्तै गाई, भैंसी, भेडा, बाख्रा तथा बंगुरलाई विषाणु (भाइरस) बाट लाग्ने संक्रामक सरुवा रोग हो । खोरेत रोगलाई नेपाल सरकारले सूचीकृत रोगको सूचीमा राखेको छ । खोरेत रोग लाग्दा पशुलाई ज्वरो आउने, र्याल काढ्ने, मुख जिब्रो, गिजा तथा खुरको कापमा फोका आई घाउ हुने, पशुले खान छाड्ने, दुध उत्पादन घट्नेजस्ता लक्षणहरू देखा पर्ने उनले बताए ।
खोरेत रोग लाग्दा दुध उत्पादन घट्ने तथा यस रोगबाट संक्रमित पशुजन्य उत्पादनको निर्यातमा प्रतिबन्ध भएकोले आर्थिक रूपमा पनि क्षतिपूर्ण मानिन्छ । यो रोग पशुको शरीरमा प्रवेश गरेको २ देखि १४ दिनसम्ममा आफ्ना लक्षण देखाउन सुरु हुनेछ ।
नेपाल सरकारले यस रोगबाट बचाउन ६/६ महिनाको अन्तरालमा पशुहरूलाई खोप कार्यक्रम सञ्चालन गर्दै आएको र खोरेत रोग लागेमा संक्रमित पशुलाई छट्टै राखी उपचार सुरु पर्ने उनले बताए । चालु आर्थिक वर्षका लागि उक्त क्षेत्रमा खोरेत नियन्त्रणका लागि निर्देशनालय मार्फत २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ भने सो क्षेत्रमा कार्यक्रम संचालनका लागि पशुसेवा कार्यालयहरूबाट प्राविधिकहरू खटाइएको उनले बताए ।



